
काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेशका केही जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ । यहाँका जाजरकोट, रुकुम पश्चिम र डोल्पामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो ।
नलगाड नगरपालिका–१२, १३ सँगै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४, ५, ६ मा पूर्ण रूपमा सञ्चार सेवा अवरुद्ध भएको हो । यस्तै, बारेकोट गाउँपालिका–५ मा रहेको रतनकोटस्थित टावरमा समस्या आएपछि बारेकोट गाउँपालिकाको अधिकांश भाग सञ्चार सेवाबाट वञ्चित भएको छ ।
रुकुम पश्चिमको गोतामकोट, जाजरकोटको नायकवाडा तनकोटको टावरमा समस्या आएपछि यहाँका नागरिक दसैँको मुखैमा आफन्तसँग कुरा गर्न नपाएको नलगाड नगरपालिका प्रमुख डम्मर रावतले जानकारी दिए ।
सञ्चार सेवा अवरुद्ध भएको जानकारी जिल्ला हुँदै प्रदेश कार्यालयमा पुर्याए पनि समाधान नभएको उनले बताए। यस्तै, सोही टावरको सहायताले डोल्पाको मुडकेचुलामा रिले गर्ने भएकाले डोल्पाको मुडकेचुलामा समेत सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।
नेपाल टेलिकम जाजरकोटका प्राविधिक प्रकाश उपाध्यायका अनुसार समस्या आएको ठाउँमा काम भइरहेको छ । गोतामकोट टावर मर्मत गरेर नायकवाडा मर्मत हुने उनले जानकारी दिए ।