
- अर्घाखाँचीका विकास खनाललाई क्यान्सरले छोएपछि परिवारमा चाडपर्वको कुनै उत्साह छैन र उपचारका लागि आर्थिक अभाव छ।
- सुरूमा हातको पाखुरा दुख्ने समस्याबाट शुरू भएको क्यान्सरको उपचारमा सबै पैसा सकिए, तर उपचार अझै सकिएको छैन।
- घरको कमजोर आर्थिक अवस्थाका कारण विकासले आफन्त, छिमेकी र समाजसँग आफ्ना उपचारका लागि सहयोगको अपिल गरेका छन्।
दाङ– चाडपर्वको उमंग पनि छैन । न कुनै उत्साह । केवल अस्पतालको बेडमा पुगेका छोरा विकासकै पिरलो छ । अर्घाखाँची निवासी ज्ञानप्रसाद र वसन्ता खनालका कान्छा छोरा विकास खनाललाई कलिलै उमेरमा क्यान्सरले छोएपछि न चाडपर्वको उमंग छ न कुनै उत्साह ।
‘जे जति धन सम्पत्ति थियो, अहिले सम्म उपचार गर्दा सकियो,’ बुवा ज्ञानप्रसादले भने, ‘थप उपचारका लागि राजीव गान्धी अस्पताल भारतमा पुर्याउने हिम्मत छैन ।’ दुई छोरा र एक छोरीमध्ये कान्छा छोरालाई क्यान्सरले दुःख दिएको छ ।
हातको पाखुरा दुख्न थालेपछि २२ वर्षिय विकास खनालले सन्धिखर्क, बुटवल र भैरहवामा पटक–पटक उपचार गराए । तर निको भएन । भएको जति पैसा यिनै अस्पताल धाउँदा सकियो ।
काठमाण्डौ उपचार गर्न पुगेका विकासलाई क्यान्सरको शंका गर्दै चितवन पठाइयो । काठमाण्डौमा नसा जेलिएको भन्दै शल्यक्रिया गरिएको थियो । तर, निको भएन । चितवनबाट मासु परीक्षणका लागि भारत पठाइयो । अनि थाहा भयो– क्यान्सर ।
उपचार चलिरहेको छ । तर थैलो रित्तिएपछि अबको उपचार कसरी गर्ने भन्ने तनाव विकासको परिवारलाई थपिएको छ । थप उपचारका लागि भारत लैजाने सोच छ । तर त्यहाँसम्म पुर्याउने आर्थिक स्रोत छैन । आफन्त र छिमेकीबाट संकलन भएको ऋणले जेनतेन उपचार गरेका विकास अब थप उपचारका लागि सबैसँग सहयोगको याचना गर्छन् ।
अस्पतालको शैयामा रहेका उनले आफू बाँच्न चाहेको र थप उपचारका लागि थोरै–थोरै भए पनि सहयोग गर्न अपिल गरेका छन् । ‘सुरुमा पाखुरा दुख्यो । उपचार गरियो, निको भएन । अहिले क्यान्सर भन्ने पुष्टि भएपछि त्यसैको उपचारमा छु,’ उनले भने, ‘बाँकी उपचार गर्न सहयोग चाहिने भयो । घरको आर्थिक अवस्था पनि कमजोर छ ।’
पाणेनी बहुमुखी क्याम्पस सन्धिखर्कमा विविएस सेकेन्ड इयरमा पढ्दै गरेका विकासलाई फेरि क्याम्पस जाने रहर छ । किताबका पानामा डुब्ने, साथीभाइसँग पुरानै लयमा रमाउने इच्छा छ । उनले सबैकुरा सम्झिरहेका छन् । अब चाँडै अस्पतालको बेडबाट उठेर पुनः गाउँघर फर्किने इच्छा छ ।