
- दशैंको बेला नेपाली युवाले सडकमा आन्दोलन गरेर असमानता र भ्रष्टाचारको विरुद्ध आवाज उठाएका छन्।
- नेपालको पुरानो राजनीति अझै भ्रष्टाचार र सत्ताकै चिन्तामा अड्किएको छ, युवाले पारदर्शिता र उत्तरदायी नेतृत्वको माग गरेका छन्।
- अन्तर्राष्ट्रिय उदाहरणले देखाएको जस्तै, नेपालमा परिवर्तन सम्भव छ र युवाहरूले नयाँ युगको शुरुवात गर्नुपर्ने आवश्यकता रहेको छ।
प्रस्तावना : दशैंको रंग र सडकको चीत्कार
दशैं नेपालका लागि केवल एउटा धार्मिक पर्व मात्र होइन, परिवार, आशा र पुनर्मिलनको प्रतिक हो। वर्षभरि टाढा–टाढा काममा, पढाइमा वा विदेशमा रहेका छोराछोरी दशैंमा घर फर्कन्छन्, दाजुभाइ–दिदीबहिनीहरू आँगनमा भेला हुन्छन्, आशीर्वाद, जमरा र टिका लगाइन्छ। यो पर्व नेपालीहरुको आत्मामा बस्ने “एकता र आशाको उत्सव” हो। तर यसपटक दशैंको माहौल भने फरक छ। आँगनमा जमरा हरियो भए पनि सडकमा आँसुको भेल बगिरहेको छ। घरमा माछा–मासु पाक्दै गर्दा अस्पतालमा घाइते युवाहरू दुखाई सहन नसकेर रोइरहेका छन्। टोलभरि चङ्गा उड्दा, छोराछोरी गुमाईरहेका आमा-बाबु आफ्नो सपनाजस्तै उडेर गएका छोराछोरीको शव बोकिरहेका छन्। जेन–जेड पुस्ता—आजको शिक्षित, सजग र संसारसँग प्रत्यक्ष जोडिएको पुस्ता हो—अब यिनिहरु मौन छैनन्। उनीहरूले दशैंमा भनिने “असत्यमाथि सत्यको विजय हुन्छ” भन्ने वाक्यलाई सडकमा उतारेका छन्। यसरी, दशैंले दिने सन्देश र जेन–जेड आन्दोलनले उठाएको प्रश्न एउटै दिशामा केन्द्रित छन्—अन्याय र भ्रष्टाचारको अन्त्य, समानता र आशाको विजय हुनैपर्छ।
१. परम्परागत शक्ति संरचनाप्रति गहिरो असन्तुष्टि
नेपालमा दशकौँदेखि ठूला राजनीतिक दलहरूकै नियन्त्रणमा सत्ताको खेल चलिरहेको छ। चुनाव जित्ने तर जनतालाई सेवा गर्ने होइन, बरु आफ्नो मान्छेलाई पद र स्रोतसाधन बाँड्ने प्रवृत्ति गहिरो बनेको छ। Transparency International (2023) को सूचकाङ्क अनुसार, नेपाल १२० औँ स्थान मा परेको छ। यसले देखाउँछ—भ्रष्टाचारको धब्बा धेरै गहिरो छ नेपालमा । युवाहरूले आफ्नै आँखाको अगाडि देखेका छन्—राज्यका स्रोत साधनहरू नेताका परिवार र नजिकका व्यापारीहरूको हातमा पुगेका छन्। हामि नेपाली जनताले कर तिरेको पैसाले नेताका सन्तान विदेशी बोर्डिङ स्कुलमा पढ्छन्, तर त्यही पैसाले गाउँको प्राथमिक विद्यालयमा पाठ्यपुस्तक पुग्दैन। विश्व बैंकको तथ्याङ्क (2022) अनुसार, नेपालका २५% भन्दा बढी युवा बेरोजगार छन् वा आंशिक रोजगारमा छन्। उनीहरुलाई योग्यताको आधारमा अवसर मिल्दैन, यही बिभेद सडकमा आउनु स्वाभाविक हो । नेपालको राजनीतिक इतिहास हेरौँ।
२०४६ सालमा प्रजातन्त्र आयो, २०६२/६३ मा जनआन्दोलनले राजतन्त्रलाई विस्थापित गर्यो, संघीय लोकतान्त्रिक गणतन्त्रको उद्घोष गरियो। तर यी सबै आन्दोलनको सार, सामान्य जनताका लागि, आजसम्म अधुरो छ। आजका युवाले आफ्नै आँखा अगाडि देखेका छन्—कसरी पुराना दलका नेताहरूले सत्ता आफ्नो व्यक्तिगत सम्पत्ति जस्तै प्रयोग गरिरहेका छन्। उनीहरूका लागि राजनीति सेवा होइन, व्यापार बनेको छ। राज्यका स्रोतसाधन, पद, ठेक्का, र अवसर सीमित नेताका परिवार र उनका नजिकका व्यापारीहरूको हातमा मात्रै पुग्छ। आमजनता दिनरात पसिना बगाएर कर तिर्छन्। तर त्यो कर नेताहरूका छोराछोरीका लागि पाँचतारे होटल, विदेशी बोर्डिङ स्कुल, विलासी गाडी, महँगा विदेश भ्रमणका लागि खर्च हुन्छ। यस्तो देख्दा युवाहरूको मनमा घोर असन्तुष्टि हुनु स्वाभाविक हो। उनीहरू भन्छन्—”यो रोग निको नभएसम्म हाम्रो भविष्य अन्धकारमै रहन्छ।”
२. अवसरको असमानता : योग्यता होइन, पहुँचको शासन
नेपालका हजारौँ युवाले कठोर मेहनत गरेर उच्च शिक्षा हासिल गरेका छन्। उनीहरूसँग प्रमाणपत्र छ, क्षमता छ, सपना छ। तर जब जागिर गर्ने बेला आउँछ अनि ढोका बन्द हुन्छ। किन? किनभने यहाँ जागिर पाउने मापदण्ड योग्यता होइन, “मेरो मान्छे” हो।
– राजनीतिक पहुँच नभएका युवाहरुलाई जागिरको ढोका बन्द हुन्छ।
– घूस नदिने, नेताको घर नचिन्ने युवाले परीक्षा पास गरे पनि जागिर पाउँदैनन्।
– तर नेताका छोराछोरी, जसलाई न त अनुभव छ, न त योग्यता, सजिलै उच्चपदस्थ पदमा पुग्छन्। यस्तो अन्यायपूर्ण वातावरणमा योग्य युवाहरूको सपना चकनाचुर हुन्छ। अन्ततः उनीहरू उच्च ब्याजमा ऋण लिएर विदेश जान बाध्य हुन्छन्। यो केवल व्यक्तिगत समस्या होइन—राष्ट्रकै “Brain Drain” को गहिरो संकेत हो। राष्ट्रले आफ्नो भविष्य विदेश पठाइरहेको छ। यो केवल व्यक्तिगत पीडा होइन, राष्ट्रकै ठूलो क्षति हो। आफ्नो मातृभूमिमा योगदान गर्न चाहने युवाहरू टाढा जान बाध्य हुनु भनेको नेपाललाई शक्तिहीन बनाउनु हो। ३. संयुक्त राष्ट्रसंघको World Youth Report 2020 ले समेत देखाएको छ—आजको पुस्ता केवल राजनीतिक अधिकारमा मात्रै सीमित छैनन्, उनीहरू सामाजिक न्याय, वातावरणीय संरक्षण, लैङ्गिक समानता, र अवसरको न्यायपूर्ण वितरणमा पनि चासो राख्छन्। यही वैश्विक प्रवृत्ति नेपालको सडकमा पनि परिलक्षित भएको छ।
४. जेन–जेडको विद्रोह : मौनता तोड्दै सडकमा
यी सबै अन्याय, अवसरको असमानता र भ्रष्टाचार देखेर जेन–जेड पुस्ता अब मौन बस्न सक्दैन। फेसबुक, ट्विटर, टिकटक वा इन्स्टाग्राममा मात्र स्टाटस लेखेर सीमित हुने पुस्ता होइनन् । जेन–जेड सडकमा उत्रिन्छ, प्लेकार्ड बोकेर, शान्तिपूर्ण प्रदर्शन गर्छन्।हो उनीहरूले सडक रोजेका छन्। उनीहरूले पुराना दलका नेताहरूलाई प्रत्यक्ष प्रश्न गरेरहेका छन्—
• किन हाम्रो मेहनतको मूल्य छैन?
• किन हाम्रो ट्याक्स नेताको विलासितामा खर्च हुन्छ?
• किन भ्रष्टाचारी सजिलै उम्किन्छ?
यी प्रश्न केवल नाराजस्तो लाग्न सक्छन्, तर यसको गहिरो प्रभाव छ। यसले पुराना दलमाथि मात्रै होइन, पुरै प्रणालीप्रति अविश्वास प्रकट गरिरहेका छन् । जेन–जेड पुस्ताले देखाइदिएको छ—अबका युवाहरू चुनावको पर्खाइ मात्र गर्दैनन्, बरु सडकमा उत्रेर आफ्नो भविष्यको लागि ऐक्यबद्धता भएर आफ्नो अधिकारको लागि लडाई लड्छन्।
५. आन्दोलनको मूल्य चुकाउने आम जनता
तर यो आन्दोलनको सबैभन्दा ठूलो मूल्य आम जनतालेनै तिर्नुपरेको छ। सडकमा प्रदर्शन हुँदा सयौँ घाइते भए। दर्जनौँ युवाको ज्यान गयो। आमा–बाबुको काख रित्तियो, बालबालिकाहरुले अकालमा ज्यान गुमाए । दशैंमा टिका थाप्नुपर्ने छोराछोरीको निधारमा आज सेतो कपडा छ। बुबाआमाले टिका लगाइदिनुपर्ने सन्तानको तस्बिर फ्रेमभित्र छ। नेताहरूअझै पनि माफी माग्न तयार छैनन्। बरु धम्कीपूर्ण वक्तव्यहरू निकालिरहेका छन्। जनताको रगत देखेर पनि उनीहरूको मन पग्लिँदैन। यसरी, आन्दोलनको मूल्य साधारण जनताले आफ्नो रगत, आँसु र भविष्यले चुकाइरहेका छन्।
६. पुरानो राजनीति : न त आत्मसमीक्षा, न त सरोकार
आजसम्म कुनै नेताले आत्मसमीक्षा गरेको छैन। कसैले घाइते वा मृतक परिवारसँग खरो जवाफदारी सहित माफी मागेको छैन। बरु उनीहरू प्रतिशोधको भाषा बोलिरहेका छन् । उनीहरूको मुख्य डर के हो भने—
• पार्टीको पद गुम्छ,
• कुर्सी गुम्छ,
• सत्ता हातबाट जान्छ।
तर यिनीहरुसँग जनताको आँसु देख्ने आँखा छैन। आजको राजनीति अझै पनि ५० वर्ष पुरानो सोचमा अड्किएको छ। कृत्रिम बुद्धिमत्ता (AI) को जमानामा पनि उनीहरूको शासन शैली अन्धकार युगकै छ। नयाँ पुस्ताको सपना पुरानो सोचले कहिल्यै पुरा गर्न सक्दैन। त्यसैले समय आएको छ—नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ।
७.
नेपाल मानव अधिकार आयोग (NHRC) को तथ्याङ्क अनुसार, पछिल्ला वर्षमा पनि राजनीतिक आन्दोलन र विरोध प्रदर्शनमा धेरै युवाहरू ले ज्यान गुमाएका छन्। उनीहरूका आमाबाबुले अझै पनि न्याय पाएका छैनन्। सवाल उठ्छ—कसरी एउटा लोकतान्त्रिक मुलुकमा आफ्ना नागरिकको आवाज उठाउँदा जीवन गुमाउनु पर्छ?
सरकारी कर्मचारीहरूको सम्पत्ति छानबिन अनिवार्य हुनुपर्छ। न्यायालयमा दलगत भागबण्डा बन्द हुनुपर्छ। भ्रष्टाचारमा संलग्नलाई केवल नाटकात्मक सजाय होइन, कठोर दण्ड दिनुपर्छ। ठूलो स्तरको भ्रष्टाचारमा जन्मकैद र सम्पत्ति जफत हुनुपर्छ। जबसम्म कारबाहीको डर हुँदैन, तबसम्म नेताहरू सुध्रिने छैनन्।
८. अबको बाटो : नयाँ नेतृत्व, पारदर्शी प्रणाली र कठोर कानुन
जेन–जेड आन्दोलनको माग स्पष्ट छ—
१. भ्रष्टाचारको अन्त्य।
२. अवसरमा समानता।
३. उत्तरदायी नेतृत्व। यसका लागि पुराना नेताहरूलाई अब बहिष्कार गर्नु नै पर्दछ। नयाँ सोच, नयाँ ऊर्जा, र नयाँ दृष्टिकोण को नेता चाहिन्छ।
• युवालाई अवसर दिनुपर्छ।
• योग्यतालाई प्राथमिकता दिनुपर्छ।
• राजनीति पेशा होइन, सेवा बन्नुपर्छ।
सरकारी कर्मचारीहरूको सम्पत्ति छानबिन अनिवार्य हुनुपर्छ। न्यायालयमा दलगत भागबण्डा बन्द हुनुपर्छ। भ्रष्टाचारमा संलग्नलाई केवल नाटकात्मक सजाय होइन, कठोर दण्ड दिनुपर्छ। ठूलो स्तरको भ्रष्टाचारमा जन्मकैद र सम्पत्ति जफत हुनुपर्छ। जबसम्म कारबाहीको डर हुँदैन, तबसम्म नेताहरू सुध्रिने छैनन्।
९. अन्तर्राष्ट्रिय उदाहरण : परिवर्तन सम्भव छ
सिङ्गापुर : १९६० को दशकमा भ्रष्टाचारले थिचेको मुलुक थियो। तर कडा कानुन, पारदर्शी प्रणाली र सक्षम नेतृत्वले आज सिङ्गापुरलाई एशियाको सबैभन्दा पारदर्शी राष्ट्र बनाएको छ। दक्षिण कोरिया : १९८० को दशकमा विद्यार्थी आन्दोलनबाट लोकतन्त्र स्थापना भयो। आज दक्षिण कोरिया विश्वका सबैभन्दा प्रगतिशील लोकतन्त्रहरूमध्ये एक हो। भूटान : सानो मुलुक भए पनि, भूटानले “Gross National Happiness” लाई नीति बनाई विश्वलाई उदाहरण दिएको छ। नेपालले पनि आफ्नै युवाबाट प्रेरणा लिएर युवाहरू लाई सहयोग गरेर यस्ता परिवर्तन सम्भव बनाउन सकिन्छ ।
१०. निष्कर्ष : जागरणको समय
अवसरमा समानता नियुक्ति योग्यता र प्रतिस्पर्धाको आधारमा मात्र हुनुपर्छ। “मेरो मान्छे” संस्कृतिलाई पूर्ण अन्त्य गर्नुपर्छ। उत्तरदायी नेतृत्व को चयन हुनुपर्छ। सार्वजनिक पदधारीहरूको सम्पत्ति र जीवनशैली पारदर्शी हुनुपर्छ। न्यायपालिका, प्रहरी, र आयोगहरूमा नियुक्ति दलगत नभई योग्यतामा–आधारित हुनुपर्छ। जेन–जेड आन्दोलन केवल एक क्षणको आवेग होइन। यो राष्ट्रको आत्माले दिएको चेतावनी हो। यदि पुराना नेताहरू अब पनि आत्मआलोचना गरेर नयाँ पुस्ताको माग सम्बोधन सहित सहयोग गरेनन् भने, इतिहासले उनीहरूलाई कहिले पनि क्षमा गर्ने छैन। यदि हामी अझै मौन रह्यौँ भने, हाम्रो सन्तानले हामीलाई पनि प्रश्न गर्नेछन् —
• किन तिमीहरूले आवाज उठाएनौ?
• किन भ्रष्टलाई सजिलै उम्कन दिइरह्यौ? अब समय आएको छ, सबैले नयाँ पुस्ताको सहयोग गर्नुपर्छ। हाम्रो सपना स्पष्ट छ—
• जहाँ जनताको कर जनताकै हितमा प्रयोग हुनुपर्छ ।
• योग्यताको सम्मान हुनुपर्छ । युवाले उठाएको आवाजलाई दबाएर होइन। यो आन्दोलन नेपालमा नयाँ युगको शुरुवात हो। जहाँ राजनीति सेवा हो, सत्ता होइन भन्ने निति हुनुपर्छ । दशैंको आशीर्वादले जस्तै, असत्य माथि सत्यको बिजय हुन्छ । यही हो नेपालको नयाँ युगको शुरुवात। हामी उठ्छौँ, हामी लड्छौँ, र हामी जित्छौँ।