
- झापाकी जेनजी गायिका युगश्री मिश्रले भ्रष्टचारी, देशद्रोही र बलात्कारीलाई फाँसी सजायको मागसहितको गीत सार्वजनिक गरेकी छन्।
- गीतले नेपालको विकास, राजनीतिक स्थिरता र भ्रष्टाचार निवारणको सशक्त आवाजलाई प्रकट गरिरहेको छ।
- गीतले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चयन गर्ने र सुगौली सन्धिबाट छुटेका भूभाग जोड्न जोड दिएको छ।
झापा- झापाकी जेनजी गायिका युगश्री मिश्रले भ्रस्टाचारी, देशद्रोही तथा बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने व्यवस्थासहितको माग राख्दै आफ्नो गीत सार्वजनिक गरेकी छन्।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता परिवर्तनको माग राख्दै गत भदौँ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले उठाएका मुख्य मागहरूलाई समेटेर एक नयाँ गीत सार्वजनिक भएको हो।
१४ वर्षीया जेनजी गायिका युगश्री मिश्रले गाएको यो गीतले देशको विद्यमान समस्याहरूमाथि प्रहार गर्दै समाधानको मार्ग खोजेको छ।
गीतले नेपालको विकास, समृद्धि, राजनीतिक अस्थिरताको अन्त्य र भ्रष्टाचार निवारणको सशक्त आवाज उठाएको छ।
गीतको महत्वपूर्ण मागहरूमा बलात्कारी र देशद्रोहीलाई फाँसीको सजाय दिने कानुन बनाउनुपर्ने, राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चयन गर्न संविधान संशोधन गर्नुपर्ने र सुगौली सन्धिबाट छुटेका नेपालीभाषीहरूको भावनालाई समेट्दै उक्त भूभागलाई नेपालमा जोड्ने कुनै न कुनै व्यवस्था गरिनुपर्ने रहेका छन्।
यस गीतका गीतकार कृष्णप्रसाद मिश्र रहेका छन्।
यस गीतले हरेक किशोरकिशोरीहरूलाई पढेर, बढेर नेपालमै बसेर केही गर्न र देशका लागि केही गर्नसक्ने वातावरण निर्माण गरिनुपर्ने कुरामा जोड दिएको छ।
गीतमा विषम आचार्यको संगीत रहेको छ। यो गीत जेन जी पुस्ताको देशप्रतिको आक्रोश र सकारात्मक परिवर्तनको चाहनालाई अभिव्यक्त गर्ने एक माध्यम बनेको छ।