
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन-जी आन्दोलनको अपूरणीय जनधनको क्षतिबीच यस वर्षको दशैं उत्सवको रुपमा मनाउन नसकिने बताएको छ।
दशैंको शुभकामना सन्देश जारी गर्दै रास्वपाका कार्यवहाक सभापति डोलप्रसाद अर्यालले दशैंलाई उत्सवको उत्साहभन्दा धार्मिक-सांस्कृतिक परम्पराको निरन्तरताका लागि मात्रै मनाउन अभिसप्त भएको बताएका हुन्।
जेन-जी आन्दोलनपछिको शोक, विध्वंश र त्रासबीच पनि सदीयौंदेखिको परम्परा धानेर नेपाली समाजको विविधतालाई फेरि एकपटक एकताको सुत्रमा बाँधिएको पनि शुभकामना सन्देशमा भनिएको छ।
दशैंले देशमा सुशासन, समृद्धि र स्थायित्व कायम गर्न सबैलाई अभिप्रेरित गरोस भन्ने रास्वपाको कामना छ। ‘देशमा सुशासन, समृद्धि र स्थायित्व कायम गर्न तथा नयाँ नेपाल निर्माणको अभियानमा दृढ संकल्प र सार्थक सहकार्यका लागि विजयादशमीले हामी सबैलाई अभिप्रेरित गर्न सकोस्’, शुभकामना सन्देशमा भनिएको छ।