पोखरा- ‘एउटै गरोबाट हामीले डेढ लाख रुपैयाँ आम्दानी लिन सक्ने भयौं’, जयकुमार थापाले उत्साहको साथ सुनाए। असारयता मात्रै उनले पाखो बारीको एउटै गरोबाट डेढ लाख रुपैयाँ आम्दानी लिन सफल भएका हुन्। माथिको वाक्यांशले तपाईंलाई दंग पार्याे यो होला के लगाएर एउटै गरोबाट डेढ लाख रुपैयाँ आम्दानी लिन सकिन्छ ? भनेर। जयकुमारले यतिविघ्न गुलियो आम्दानी पिरो अकबरे खुर्सानीबाट लिएका हुन्।
तनहुँको भिमाद नगरपालिका–९ कटनछापका जयकुमारले कोदो र मकै रोप्ने बारीको एउटा गरोमा यसपाली अकबरे लगाए । आँगनका छेउछाउमा घरमा खाने अकबरेका बोट त उनले लगाउथे नै। व्यावसायिक रुपमा उनले पहिलो पटक ८०० विरुवा लगाए। असारदेखि धमाधम अकबरे खुर्सानी टिपेर उपोभक्तामाझ पुर्याइरहेका छन्।
असोज पहिलो सातासम्म ४०० केजी विक्री गरेको उनले जानकारी दिए । बजारमा मूल्य पाएका छन्, २५०–३०० रुपैयाँसम्म । एक लाख रुपैयाँ बढी आम्दानी लिइसकेको जयकुमारले बताए। मंसिरसम्मै फल्ने हुदा अकबरेका बोटले कम्तिमा पनि डेढ लाख रुपैयाँ आम्दानी दिने उनको अनुमान छ। कोदो मकैको तुलनामा अकबरेले भयंकर आम्दानी दिएपछि उनी दंग छन्। ‘मकै लगाएर सबै बारीको गर्दा नि हाम्लाई त्यति डेढ लाख रुपैयाँ आउदैन’, उनी भन्छन्, ‘यो अकबरेले डेढ लाख त एक रोपनी जग्गाबाटै आम्दानी लिन सक्ने रहेछ।’
बारी देखाउदै उनी थप्छन्, ‘यो सबैमा लगाउने हो भने हामीले आगुम त १०÷१२ लाख रुपैयाँ नै लिइन्छ होला। असारबाट यता डेढ लाख रुपैयाँ लिनु भनेको हामी जस्तो किसान मान्छेलाई राम्रै हो नि।’ डेढ लाख रुपैयाँ आम्दानी दिएको अकबरे रोपेर फल्ने बेलासम्म आफ्नो श्रमबाहेक पुगनपुग १० हजार रुपैयाँ लगानी गरेको जयकुमारले जानकारी दिए ।
अकबरेको खेतीले गुलियो सन्तुष्टि दिइरहेको छ कटनछापकै अर्का किसान अखिल सारु मगरलाई । उनले तीन रोपनीमा क्षेत्रफलमा ४ हजार विरुवा रोपेका छन् । ११ सय केजी बढी खुर्सानी उनले उपभोक्तामाझ पु¥याइसकेका छन्। उत्पादन, बजार र मूल्य सन्तोषजनक रहेको उनको भनाइ छ। परम्परागत मकै र कोदो वालीको तुलनामा चार गुणा आम्दानीमूलक रहेको उनी बताउँछन् ।
‘कोदो मकै हामीले बेचेर आम्दानी लिने गरेका थिएनौं। अकबरे बजार लगेर विक्री गर्दा नगद आम्दानी लिइरहेका छौं’, उनले भने। अखिल गतवर्ष देखि नै अकबरेको व्यावसायिक खेतीमा लागेका थिए। अहिले क्षेत्रफल बढाएर मनग्य आम्दानी लिदैछन्। ‘यो माटोमा पनि सम्भावना छ । हामीले गर्न सक्नुपर्छ’, उनलाई लागेको छ।
जयकुमार र अखिलले मात्रै होइन भिमाद नगरपालिका–९ भानुमतिका ३५ बढी किसानले अकबरे खुुर्सानी फलाएका छन् । भानुमतिको कटनछाप, पाथर्दी, सखेप, पाइमे, जौपानी र रिठ्ठाभञ्याङका किसानले व्यक्तिगतसँगै सामूहिक अकबरे खुर्सानी लगाएका हुन् । पिरो अकबरेको गुलियो आम्दानीले यहाँ किसान दंग नै छन् ।
अकबरेको पकेट क्षेत्र बनाउनलाई भानुमति मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहले ५० हजार बेर्ना उत्पादन गरेर किसानलाई बाँडेको थियो । मल्चिङ प्लाष्टिक र विउँमा भिमाद नगरपालिकाले किसानसँग ५०/५० प्रतिशत लागत साझेदारी गरेको छ । किसानलाई प्राविधिक ज्ञानका लागि पनि सहयोग गरिरहेको छ।
उत्पादन र बजारमा समस्या भएपछि यहाँका किसानले यो बर्ष कम्तिमा ७० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म आम्दानी लिने आँकलन गरेको भिमाद–९ का वडाध्यक्ष इमानबहादुर थापा बताउँछन्। अकबरे विक्रीबाट वडाभर कम्तिमा ४० लाख रुपैयाँ भित्रने उनले सुनाए। पिरो खुर्सानी बिक्रीको आम्दानीले किसानको मुहारमा खुशी छाएको उनले बताए।
आम्दानीको श्रृंखला हेर्दा सबै किसानको मुहारमा खुशी छाएको हुनाले मान्छेको जीवनसँग जोड्दा पिरो खुर्सानीको गुलियो आम्दानी भन्ने वातावरण बनेको छ’, उनले सुनाए ।
काठमाडौं, पोखरा, चितवनसँगै तनहुँका स्थानीय बजार दुलेगौंडा, खैरेनीटार र भिमादमा भानुमतिको अकबरे खपत भइरहेको छ । ‘बजारको खासै समस्या यो बर्षलाई देखिएन’, अकबरे खुर्सानी लगाएका पूर्ववडाध्यक्ष थापा भन्छन्, ‘पाकेर रातो भएको अकबरेको त माग असाध्यै धेरै छ, हामीले पु¥याउन सकेका छैनौं ।’ बजार मूल्य पनि सोंचे भन्दा राम्रो पाएको बताए । खुद«ामा ३०० रुपैयाँमा विक्री भएको उनले सुनाए । थोकमा विक्री गर्दा २५० रुपैयाँ किसानले पाएका छन् ।
अकबरे लगाएर गतिलो आम्दानी लिन सफल भएपछि किसान हौसिएको भानुमति मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहका अध्यक्ष डोलराज गुरुङले बताए । कम्तिमा पनि अर्को बर्ष एक लाख अकबरे लगाउने तयारी भइरहेको उनको भनाइ छ । खुर्सानीसँगै गोलभेंडा लगायतका नगदे वालीलाई जोड दिएर तरकारीको पकेट क्षेत्र बनाउने उनले सुनाए।
अकबरे फलाएरै गाउँमा आधा करोडको हाराहारीमा भित्र्याएपछि सम्भावना देखेको उनले बताए । ‘युवाहरु यो ठाउँमा व्यवसाय गरेर केही उपलब्धिमूल छैन भनेर जम्मै परदेशतिर लम्किराको छ । यहाँ बुढाखाडा मात्रै बसेर केही खेती योग्य जमिनमा खेती गरिरहेका छौं’, उनको सन्देश छ, ‘हामीले ‘भोलयुम’ मा खेती गर्ने हो भने युवाहरुले आफ्नो शक्ति आफ्नै माटोमा दिए यहीं उत्पादन राम्रो छ । गाउँघरकै माटोमा सुन फल्छ । धेरै खर्च गरेर विदेश जानुपर्दैन ।’