
काठमाडौँ- शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डमा विभिन्न ठाउँमा पहिरो खसेको छ।
नागढुंगा चेकपोस्टबाट ट्राफिक प्रहरीले माइकिङ गर्दै गाडीहरूलाई काठमाडौँतर्फ नै फर्काइरहेका छन्।
ज्वाङ खोलासहित केही स्थानमा ठूलो पहिरो खसेको र तत्काल सवारी साधन पठाउन नसकिने अवस्था रहेको जानकारी दिइएको छ।
धादिङका विभिन्न स्थानमा पनि पहिरो गएकाले र तत्काल खुलाउने सम्भावना नरहेकाले यात्रु तथा चालकलाई सुरक्षित तवरबाट काठमाडौँ फिर्ता भई सुरक्षित रहन हार्दिक अनुरोध गरिएको छ।
चितवन प्रहरीले पनि मुग्लिन–नारायणगढ सडक खण्डमा आवागमन पूर्ण रूपमा बन्द गराएको छ।
अहिलेको अवस्थामा सडक खुलाउन तत्काल सम्भव नभएकोले चालकहरूलाई अनावश्यक जोखिम नमोल्न र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।