
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले भारी वर्षाका कारण तीन दिनका लागि सवारी साधनमा रोक लगाएको छ।
- २०८२ असोज १८, १९ र २० गतेका लागि सबै राजमार्गहरू पूर्ण रूपमा बन्द गरिएको छ।
- प्राधिकरणले अत्यावश्यक बाहेक लामो दूरीका सवारी साधन नचलाउन अनुरोध गर्दै अनुगमन गर्न निर्देशन दिएको छ।
काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढी, पहिरो तथा डुबानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनमाथि तीन दिनको लागि रोक लगाएको छ।
प्राधिकरणले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै २०८२ असोज १८, १९ र २० गते का लागि राजमार्गहरू पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवम् त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधनको आवतजावत बन्द गरिएको छ।’
हाल पूर्वको कोशी प्रदेशदेखि पश्चिमको लुम्बिनी प्रदेशसम्म मध्यमदेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी असोज २० गतेसम्म वर्षा जारी रहने प्रक्षेपण गरेको छ, जसमा केही स्थानमा अति धेरै भारी वर्षा समेत हुन सक्ने सम्भावना औंल्याइएको छ।
प्राधिकरणले यातायात व्यवसायी लगायत सबैलाई उक्त अवधिमा अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन नचलाउन आग्रह गरेको छ। साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई सवारीसाधन आवतजावत बन्द गर्न र त्यसको निरन्तर अनुगमन तथा निगरानी गर्न समेत निर्देशन दिएको छ।