
- जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्ने सूचना दिएपछि दाङका किसानहरू धान काट्न हिचकिचाएका छन्।
- किसान सन्तराम चौधरीलाई पानी पर्ने डरले दश कट्ठामा पाकेको धान काट्न रोकियो।
- दाङमा ६५ हजार नौ सय ८० हेक्टर जग्गामा खेती हुने गरेको सरकारी तथ्यांकले देखाउँछ।
दाङ–लमही नगरपालिका–६ देउपुर निवासी किसान सन्तराम चौधरीले दश कट्ठामा लगाएको धान पाकेर पहेँलै भएको छ।
दशैंअघि भित्र्याउन ठिक्क परेका सन्तरामलाई मौसमले छेक्यो। ठूलो पानी पर्ने भन्दै आएको सूचनाले पाकेर पहेँलै भएको धान काट्न हिचकिचाएका छन्।
‘पानीले छेक्यो धान काट्न। कतिदिन यस्तै हुने भयो। घाम लाग्यो भने काट्ने भनेको बादल र पानी उस्तै छ,’ उनले भने, ‘धान काट्यौं भने ठूलो पानी पर्ने हो कि भन्ने डर पनि छ। पानी परेको बेलामा धान काट्दा बिग्रन्छ। खेतमै उम्रिन्छ।’
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको सूचनाको आधारमा धान काट्न ठिक्क परेका दाङ देउखुरीका किसान हिचकिचाएका छन्। केही दिन पर सारेर भए पनि धान भित्र्याउने तयारी किसानको छ।
‘धान काटौं भनेको तर पानी पर्ने सूचना आयो। अनि रोकियौं,’ भास्करदेव चौधरीले भने, ‘किसानलाई मौसमले पनि साथ नदिने भयो।’
धानखेती गर्दा पानी नपरेर दुःख पाएका यहाँका किसान अहिले धान भित्र्याउने बेलामा झरी लाग्ने सूचनाले थप त्रसित बनेका छन्। अहिले दाङ देउखुरीको आकाशमा डम्म बादल लागेको छ भने पानी पनि परिरहेको छ।
दाङमा ६९ हजार नौ सय ५० हेक्टर जमिन खेतीयोग्य रहेको सरकारी तथ्यांक छ। जसमध्ये ६५ हजार नौ सय ८० हेक्टर जग्गामा मात्रै खेतीपाती हुने गरेको तथ्यांकले देखाउँछ। बाँकी दुई हजार सात सय ८० हेक्टर खेतीयोग्य जमिन खुम्चिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ।