
- वरिष्ठ जलविज्ञान विज्ञले पर्सा जिल्लाको वीरगञ्जमा ११० मिलिमिटर वर्षा मापन भएको जानकारी दिएका छन्।
- मनसुनको फैलावट नेपालका विभिन्न जिल्लामा बढी वर्षा गराउँदै बाढीको उच्च जोखिम निम्त्याइरहेको छ।
- नदीहरूमा जलस्तर वृद्धि भएकोले रेड अलर्ट जारी गर्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
काठमाडौँ- वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले शनिवार १ बजेसम्म पर्सा जिल्लाको वीरगञ्जमा ११० मिलिमिटर वर्षा भएको बताएका छन्।
हालको मनसुन अवस्थाबारे जानकारी दिँदै नेपालका विभिन्न क्षेत्रमा भइरहेको भारी वर्षा र त्यसले निम्त्याउन सक्ने जोखिमबारे उनले बताएका हुन्।
मनसुनको प्रवेश बारा, पर्सा, रौतहट, सर्लाही, चितवन लगायतका दक्षिणी जिल्लाबाट भएको हो र यसको फैलावट मकवानपुर, काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, धादिङ हुँदै सिन्धुली, दोलखा र रामेछापसम्म विस्तार भएको छ।
शनिवार दिउँसो १ बजेसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा ११० मिलिमिटर मापन भएको छ। त्यसैगरी, बाराको कलैयामा १०० मिलिमिटर र रौतहट, सर्लाही, मकवानपुर लगायतका आसपासका केन्द्रहरूमा पनि ७५ मिलिमिटर भन्दा बढी वर्षा मापन भइसकेको छ।
वर्षाको यो क्रम प्रतिघण्टा २५ देखि ३० मिलिमिटरको दरले जारी रहेको उनले बताए।
तीन दिनको दौरानमा करिब ४०० मिलिमिटरसम्म वर्षा हुने प्रक्षेपण गरिए अनुसार नै अहिले वर्षा भइरहेको छ।
मौसमविद्का अनुसार मध्य क्षेत्रमा आइतवार (भोलि) बेलुकासम्म र पूर्वी क्षेत्रमा सोमवार (पर्सी) बिहानसम्म वर्षा निरन्तर रहने देखिन्छ। यस भारी वर्षाका कारण खोलाहरूमा पानीको बहाव बढ्दै गएकाले रेड अलर्ट जारी गरिएको छ।
विशेषगरी, वागमती नदी जलाधारको तराई क्षेत्र र काठमाडौं उपत्यकाका सबै खोलानालाहरू सतर्कताको तहमा पुगेका छन्।
पराजुलीले कमला नदी जलाधार क्षेत्र र पूर्वराप्ती नदी जलाधार क्षेत्रमा पनि बाढीको उच्च जोखिम रहेको औंल्याएका छन्।
१२ घण्टामा सय मिलिमिटर वर्षा भइसकेको अवस्थामा, रातिको समयमा र आइतवार बाढीको जोखिम अत्याधिक रहेकोले सम्पूर्ण सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।