झापा- कोशी प्रदेशमा मनसुनी गतिविधि उच्च रूपमा सक्रिय भई भारी वर्षा भइरहेका कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना समेतका आधारमा मेची राजमार्ग र मेची कोरिडोरमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार सम्भावित विपद्जन्य अवस्थाबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्नका लागि अर्को सूचना जारी नभएसम्म यो बन्द कायम रहनेछ।
यस निर्णय अन्तर्गत, इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्मको मेची राजमार्ग खण्ड र मेची कोरिडोरको केचना–कञ्चनजंघा सडकमा राति सवारी चलाउन पूर्ण रूपमा बन्द गरिएको छ।
सूचनामा उल्लेख गरिए अनुसार, यो रात्रिकालीन बन्द बेलुकी ७:०० बजेदेखि बिहान ६:०० बजेसम्म लागू हुनेछ र यस समयमा सबै प्रकारका साना तथा ठूला सवारीसाधन आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ। यद्यपि, दिउँसोको समयमा अत्यावश्यक भई यात्रा गर्नुपरेमा वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ।
इलामतर्फ प्रस्थान गर्ने ठूला सवारी साधनहरूका लागि मेची कोरिडोर प्रयोग गर्न सिफारिस गरिएको छ। त्यसैगरी, १० टनभन्दा कम भएका साना सवारी साधनहरूले सिमल गोलाई–जोगमाई–तिल्केनी सडक प्रयोग गर्न सक्नेछन्।

भर्खरै
लोकप्रिय






































































































































































































