
- अविरल वर्षाका कारण बेरिङ खोल्सामा आएको बाढीले भक्तपुरका चार युवा युवतीलाई बगाएको छ।
- भक्तपुरबाट घुम्न गएको १६ जनाको टोलीबाट चार व्यक्ति शनिबार साँझ करिब ६ बजे बगेका हुन्।
- प्रहरी र सेनाको २२ जनाको संयुक्त टोली उद्धार कार्यका लागि घटनास्थल पुगेको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्सामा शनिबार बेलुकी आएको बाढीले भक्तपुरका चार जना युवायुवतीलाई बगाएको छ।
अविरल वर्षाका कारण बेरिङ खोल्सामा पानीको सतह बढेका कारण ती युवायुवती बगेका हुन्।
भक्तपुरबाट १६ जनाको टोली लाङटाङ घुम्न गएकोमा असोज १७ गते शुक्रबार राति होटलमा बास बसेका उनीहरू शनिबार लाङटाङतर्फ जाँदै गर्दा साँझ करिब ६ बजे खोल्सामा बगेको रसुवा प्रहरीले जानकारी दिएको छ।
बेपत्ता हुनेमा भक्तपुर ठिमी नगरपालिका बस्ने करिब २५ वर्षकी संस्कृति श्रेष्ठ, सोही उमेरका किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० बस्ने २३ वर्षीय रवि श्रेष्ठ छन्।
घटनाको बारेमा थाहा भएपछि प्रहरी चौकी लाङटाङबाट प्रहरी निरीक्षक सुरथ गिरीको कमाण्डमा दुई जना, नेपाली सेनाको लाङटाङ बेस क्याम्पबाट जमदार धिरबहादुर भुजेलको कमाण्डमा छ जना, प्रहरी चौकी स्याफ्रुबेसीबाट प्रहरी निरीक्षक अनिलकुमार शाहको कमाण्डमा चार जना र नेपाली सेनाको स्याफ्रुवेसी क्याम्पबाट सहायक सेनानी प्रेमसिंह धामीको कमाण्डमा १० जना गरी २२ जनाको संयुक्त टोली उद्धार कार्यका लागि खटिएको छ। उद्धार टोली पैदलमार्ग हुँदै घटनास्थल पुगेको र युवायुवतीको खोजीमा लागेको प्रहरीले जानकारी दिएको छ।