
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा रहेका बन्धकहरूको छिट्टै मुक्तिबारे घोषणाको विश्वास व्यक्त गरेका छन्।
- नेतन्याहूले हमासलाई निःशस्त्र पार्ने र गाजालाई सैन्य रूपमा निष्क्रिय बनाउने योजना रहेको बताएका छन्।
- दुवै पक्षबीच अप्रत्यक्ष युद्धविराम वार्ता सोमबारदेखि इजिप्टमा सुरु हुने तय भएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा रहेका बन्धकहरूको मुक्तिबारे आगामी केही दिनमै घोषणा हुने विश्वास गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई शान्तिका लागि आफूले राखेका बुँदाहरु स्विकार्न धेरै समय बाँकी नरहेको चेतावनी दिएको केही घन्टामै नेतन्याहुले बन्धक मुक्त हुने विश्वास ब्यक्त गरेका हुन्।
टेलिभिजन मार्फत सम्बोधन गर्दै उनले दिएको वक्तव्यमा गाजा अब नि:शस्त्र हुने प्रकृयामा रहेको बताए। उनले भने ‘हमासलाई निःशस्त्र पारिनेछ र गाजालाई सैन्य रूपमा निष्क्रिय बनाइने छ।’ उनले यो प्रकृया सजिलो तरिकाले सम्झौता मार्फत होस् या सैन्य कारबाही दुबै विकल्प खुल्ला राखेर पुरा गर्ने पनि बताए।
यसअघि शुक्रबार हमासले अमेरिकी शान्ति योजनाअनुसार बन्धकहरूलाई मुक्त गर्न सहमति जनाउँदै वक्तव्य जारी गरेको थियो। तर, त्यस वक्तव्यमा हमासले निःशस्त्रीकरणबारे केही उल्लेख गरेको थिएन र अन्य विषयमा वार्ताको आवश्यकता रहेको बताएको थियो।
शनिबार हमासले भनेको छ कि इजरायलले अझै पनि ‘नरसंहार’ जारी राखेको भन्दै गाजामा शनिबार पनि हवाई आक्रमण भएको जनाएको थियो। हमासले अन्तर्राष्ट्रिय समुदायलाई इजरायलमाथि दबाब दिन पनि आग्रह गरेको छ।
दुवै पक्षबीच अप्रत्यक्ष युद्धविराम वार्ता सोमबारदेखि इजिप्टमा सुरु हुने तय गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई सम्झौता पूरा गर्न ढिलाइ गरे ‘सह्य नहुने’ चेतावनी दिएका थिए।
आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा गरिएको पोस्टमा ट्रम्पले भने ‘हमासले छिटो कदम चाल्नै पर्छ, नत्र सबै सम्झौता समाप्त भएको मानिने छ अन्यथा यसलाई तुरुन्तै पूरा गरौं।’ पछि उनले अर्को पोस्टमा भनेका छन् कि इजरायलले ‘प्रारम्भिक फिर्ती सीमामा सहमति जनाइसकेको’ छ।
२० बुँदे योजनामा तत्काल लडाइँ रोक्ने र हमासको नियन्त्रणमा रहेका २० जना जीवित इजरायली बन्धक तथा मृत ठानिएका व्यक्तिहरूका अवशेष मुक्त गरिने प्रस्ताव गरिएको छ, जसको सट्टामा सयौँ गाजावासी बन्दीहरूलाई रिहा गरिने छ।