
- नेपाली सेनाले बाढी, पहिरो र डुवानबाट प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
- काठमाडौँ उपत्यकामा विभिन्न टोलीले खतरामा रहेका बस्ती र सडकमा अवरोध हटाइरहेको छ।
- उपत्यकाबाहिर समेत बाढीले प्रभावित क्षेत्रहरूमा सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
काठमाडौँ- विगत दुई दिनदेखिको अविरल वर्षाले देशभरि बाढी, पहिरो र डुवानका घटनाबाट क्षति पुगेका क्षेत्रमा नेपाली सेनाले उद्धार र राहत कार्यलाई तीव्र पारेको छ।
सेनाले काठमाडौँ उपत्यकाभित्र मात्र २८ स्थानमा आवश्यक उपकरणसहित फौज तैनाथ गरी विपद् न्यूनीकरण तथा उद्धार कार्य गरिरहेको जनाएको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बास्तोला गाउँमा घरमुनिबाट लगातार पहिरो खस्दा बस्ती जोखिममा परेको थियो। सो क्षेत्रमा रणशुर गुल्म, खरिपाटीबाट खटिएको सेनाको टोलीले प्रभावित स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। त्यस्तै, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० आकाशेधारा क्षेत्रमा रुख ढल्दा सडक अवरुद्ध भएपछि फष्टराइफल गणबाट खटिएको टोलीले अवरोध हटाई सडक सुचारु गरेको छ।
यस्तै, ललितपुर महानगरपालिका–९ च्यासलस्थित बागमती नदीको पुलमुनि बाढीले बगाएर ल्याएको रुख अड्किएर पुल नै जोखिममा परेपछि राजदल गणको टोलीले तत्काल अवरोध हटाएको छ। बागमती नदी किनारका तटीय क्षेत्रमा भने सेनाको टोली निरन्तर निगरानीमा रहेको छ।
उपत्यकाबाहिर समेत सेनाले खोज तथा उद्धार कार्यलाई सघाइरहेको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ तल्लेभिरको खहरे खोलामा बाढीले बगाएर बेपत्ता भएका ४ जनाको खोजी कार्य श्रीनाथ गणका टोलीले विभिन्न स्थानमा गरिरहेको छ।
त्यसैगरी, सप्तरीको सप्तकोशी नगरपालिका–६ बचनिया पोखरी र पिलाठी कौराठी गाउँपालिका–३ उदयमण्डल तथा मुखियाटोल डुबानमा परेपछि बरख गणबाट खटिएको सेनाको टोलीले उद्धार कार्य गरिरहेको छ।
पर्साको वीरगञ्ज महानगरपालिका–२४ रामगडवा क्षेत्रमा श्रीजंग गण, रौतहटको राजदेवी नगरपालिका–२ र ३ मा लालबकैया खोलाको बाँधमा सम्भावित क्षति न्यूनीकरणका लागि नारायणदल गण र सर्लाहीको कडौना गाउँपालिका–७ शिवनगर डुबान क्षेत्रमा कालीध्वज गणका फौज खटिएका छन्।