
भारतको जयपुरस्थित सवाई मानसिंह (एसएमएस) अस्पतालको ट्रमा सेन्टरमा आइतबार अबेर राति आगलागी हुँदा ३ महिलासहित ८ जनाको मृत्यु भएको छ।
अस्पतालको न्युरो आईसीयू नजिकै ब्लड सेम्पल ट्युब र अन्य सामग्री राखिएको स्थानमा विद्युत् शर्ट भएर आगलागी भएको ट्रमा सेन्टरका एक वरिष्ठ चिकित्सकले जनाएका छन्।
दुर्घटनाको समयमा उक्त आईसीयूमा ११ बिरामी थिए भने छेउमै रहेको अर्को आईसीयूमा १३ बिरामी रहेका थिए।
घटनाको छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको अस्पताल प्रशासनले जनाएको छ। तर, पीडित पक्षले भने सुरुमा धुवाँ निस्किँदा प्रशासनलाई जानकारी दिँदा समेत बेवास्ता गरिएको आरोप लगाएका छन्।