
धनगढी- भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि अवरुद्ध रहेका केही सेवा कैलाली जिल्ला प्रशासन कार्यालयले पुनः सञ्चालन गरेको छ।
बुधबारदेखि कार्यालयले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सुचारु गरेको हो। आन्दोलनपश्चात् सबै सेवा ठप्प रहेका जिल्ला प्रशासन कार्यालयले मंगलबार परीक्षणका रूपमा सुरु गरेको सेवा बुधबारदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए।
उनका अनुसार अब छिट्टै राहदानीसम्बन्धी सेवा पनि सुरु गर्ने तयारी भइरहेको छ। नागरिकता सम्बन्धी सेवा भने आन्दोलनको केही दिनपछि नै वैकल्पिक व्यवस्था गर्दै पाल टाँगेर सञ्चालन गरिएको थियो।
आन्दोलनका क्रममा आगजनीका कारण जिल्ला प्रशासन कार्यालयका दुई भवनसहित महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका थिए। तर विभिन्न निजी संस्थाले कम्प्युटर, प्रिन्टर, दराज, फर्निचरलगायत सामग्री उपलब्ध गराएपछि कार्यालयलाई सेवा सञ्चालनमा सहजता भएको छ।