
- सञ्चारमन्त्री खरेलले राजनीतिक दल र जनताको सहभागितासहित समयमै प्रतिनिधिसभाको निर्वाचन गराउनु मुख्य कार्यादेश रहेको बताए।
- उनले निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गर्दै सञ्चार जगतबाट महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
- सरकारको म्याण्डेटमा निर्वाचन बाहेक सुशासन, भ्रष्टाचार अन्त्य, र राहत पुनःस्थापनाका कार्यहरू पनि समावेश छन्।
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट बनेको वर्तमान सरकारको मुख्य कार्यादेश तोकिएको समयसीमाभित्र सबै राजनीतिक दल र जनताको सहभागितासहित प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरे।
निर्वाचन गर्ने सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले प्रतिबद्धता जनाइसकेको स्पष्ट पार्दै उनले निर्वाचनको वातावरण निर्माणमा सञ्चार जगतबाट महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
“यो जेनजी आन्दोलनको जग, सबै राजनीतिक दल र जनताको चाहनामा बनेको सरकार हो। निर्वाचनमा जाने सबै दल र जनताको चाहना छ। यसै क्रममा निर्वाचन आयोगले कार्यतालिका प्रकाशन गरिसकेको छ। निर्वाचनको वातावरण बनाउन राससले पनि भूमिका खेल्नेछ भन्नेमा म विश्वस्त छु,” मन्त्री खरेलले भने।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलका अनुसार निर्वाचन मात्र होइन, सुशासन कायम गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने, जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिमाथि छानबिन गरी कारबाही गर्ने तथा प्राकृतिक विपद्पछि राहत र पुनःस्थापना गर्ने कार्य पनि सरकारको ‘म्याण्डेट’ हो।
उनले आसन्न निर्वाचनको वातावरण तयार पार्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनीतिक दलहरुसँग संवाद भइरहेको उल्लेख गरे।