
काठमाडौँ- राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले नेपाली काँग्रेसका नेता विश्वेश्वरप्रसाद (विपी) कोईरालालाई महामानव भन्नु गलत भएको बताएका छन्।
काठमाडौंमा विपी काँग्रेसले आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले विपी महामानव नभई असल राजनेता रहेको प्रष्ट पारे। उनका अनुसार “महामानव भनेको राजनीतिबाट बाहिर रहने, गल्ती नगर्ने व्यक्तिलाई भन्न सकिन्छ, तर विपी राजनीतिमा सक्रिय मात्र नभई गल्ती गर्ने मान्छे पनि हुनुहुन्थ्यो।”
विष्टले भने, “विपी महामानव थिएनन्। हामीले बेला–बेला गलत बुझ्छौँ। विपीलाई महामानव भन्नु हुँदैन। विपी राजनेता हुनुहुन्थ्यो। नेपालको लागि विपीको राजनेतापन इज्जत र सौभाग्यको कुरा हो।”
उनले विपीले समयानुकूल मुलुकको माटो र गहिराइलाई बुझेर नेतृत्व गरेको उल्लेख गर्दै नेपालको राजनीतिमा विपी जत्तिको गहिरो समझ भएका नेता अहिलेसम्म नदेखिएको बताए। उनले थपे, “केही हदसम्म मनमोहन अधिकारी विपीको नजिक पुग्नुभएको थियो, तर त्यो तहको राजनेता अहिले छैन।”
यसक्रममा उनले माओवादीसहितका केही दलहरूले व्यवस्था बदल्न अपनाएको बाटो राष्ट्रघाती भएको आरोप समेत लगाए।