
मोरङ – जिल्ला प्रशासन कार्यालय मोरङले राष्ट्रिय परिचय पत्र र राहदानीबाहेक अन्य सेवा पुनः सुचारु गरेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सेवाग्राहीलाई सहज सुविधा दिन आफ्ना नियमित कार्य बुधबारबाट पुनः सुचारु गरिएको जानकारी दिए।
उनले अत्यावश्यक सेवा भने दसैँ अगाडिबाटै सुचारु गरिएको बताए। यद्यपि, कार्यालयले राष्ट्रिय परिचयपत्र र राहदानीको सेवा प्रवाहलाई नियमित गराउन थप केही दिन लाग्ने जनाएको छ।
जेनजी आन्दोलनमा आगजनी र तोडफोडका क्रममा ती सेवा प्रवाहका लागि आवश्यक सामग्रीमा क्षति पुगेको हुँदा समस्या भएको उनले बताए।
कार्यालयले दुवै सेवाका लागि आवश्यक मेसिन र प्रविधि माग गरेको जनाएको छ।
उनले भने, ‘हामीले अहिले राहदानी र राष्ट्रिय परिचय पत्रको कामलाई केही समयका लागि थाती राखेका छौँ। केन्द्र सरकारसमक्ष यसका लागि आवश्यक सामग्री समेत माग गरेका छौँ।’ सामान प्राप्त हुनासाथ नियमित सेवा सुरु गरिने उनले बताए।