
- इजरायली गुप्तचर संस्थाहरूले अपहरणमा परेका नेपाली बिपिन जोशीको अर्को भिडियो प्राप्त गरेको समाचार छ।
- जोशीको परिवारले गाजामा भेटिएको यो प्रमाणले उनी जीवित रहेको अटल विश्वास दिने बताएको छ।
- बुधबार बेलुकी सार्वजनिक हुने भिडियोसँगै बिपिन जोशी रिहाको आशा परिवार र नेपालीहरूमाझ फैलिएको छ।
इजरायली गुप्तचर संस्थाहरूले हमासको अपहरणमा परेका नेपाली युवक बिपिन जोशीको अर्को भिडियो प्राप्त गरेका छन्। जेरुसेलम पोस्टका अनुसार दुई वर्षअगाडिको उक्त भिडियो बुधबार साँझ सार्वजनिक गरिनेछ। अहिलेसम्म जोशीको गाजास्थित अस्पतालको एउटा भिडियोमात्र सार्वजनिक भएको थियो।
बन्धक परिवार फोरमले जारी गरेको घोषणाअनुसार उक्त भिडियोले जोशी जीवित रहेको विश्वास दिएको छ।
जोशीको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, गाजामा भेटिएको जीवनको यो प्रमाण, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौं, हामीलाई उनी जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिन्छ।
जोशी दुई वर्षअघि अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको तीन साताअघि कृषि शिक्षा कार्यक्रमका लागि इजरायल आइपुगेका थिए। उनलाई किबुट्ज अलुमिमबाट अपहरण गरिएको थियो, जहाँ धेरै नेपाली नागरिकहरू बसोबास गर्थे।
वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार उनले आफ्नो आश्रयमा लुकेका सबैको ज्यान बचाउन ग्रेनेड समातेर बाहिर फ्याँकिदिएका थिए। सोही घटनापछि जोशीलाई हमासले अपहरण गरेको थियो। जोशीलाई अस्पतालमा राखिएको भिडियो बाहेक उनको जीवनको कम संकेतहरूमात्र प्राप्त भएका थिए।
उनको भिडियोमा के छ भनेर भनिएको छेन। यद्यपि उनको भिडियो सार्वजानिक गर्ने तयारी परिवारले गरेको छ।
बुधबार बेलुकी सार्वजनिक हुने भिडियोसँगै जोशी रिहा हुने आशा उनको परिवार र अन्य नेपालीहरूमाझ पनि फैलिएको छ।