खोकीको विषाक्त सिरपको सेवनले भारतको मध्य प्रदेशमा कम्तीमा २० बालबालिकाको मृत्यु भएको छ भने छिमेकी नागपुरमा उपचाररत पाँच बालबालिकाको अवस्था गम्भीर रहेको अधिकारीहरूले पुष्टि गरेका छन्।
धेरैजसो पीडितहरू मध्य प्रदेशको छिन्दवारा जिल्लाका छन्। तमिलनाडुको कांचीपुरममा रहेको कम्पनी स्रेसन फार्मास्युटिकल्सले उत्पादन गरेको सिरप खाएपछि बालबालिकाहरूको मृगौला फेल भएको बताइएको छ।
उपमुख्यमन्त्री तथा स्वास्थ्यमन्त्री राजेन्द्र शुक्लाले नागपुरमा रहेका पाँच गम्भीर बिरामी बालबालिकामध्ये दुई जना एम्समा, दुई जना सरकारी अस्पतालमा र एक जना निजी अस्पतालमा भर्ना रहेको बताएका छन्। नागपुर भ्रमणको क्रममा शुक्लाले प्रभावित बालबालिकाका परिवारसँग भेट गरेको इन्डियन एक्सप्रेसले लेखेको छ।
उक्त औषधि कम्पनीका मालिकलाई पक्राउ गर्न छिन्दवाराबाट प्रहरी टोली पहिले नै तमिलनाडुको चेन्नई र कांचीपुरममा पुगेको छ,’ शुक्लाले बुधबार छिन्दवारामा भने।
यससँग सम्बन्धित घटनाक्रममा, राज्यका विपक्षी दलका नेता उमंग सिंघरले बुधबार पीडित परिवारहरूसँग भेटेका छन्। बुधबार, सिंघरले राज्य सरकारले उक्त त्रासदीको पछाडि तथ्य लुकाएको आरोप लगाएका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































