
- नेपालले आईसीसी टी-२० विश्वकप छनोटमा कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी सुरुवात गर्यो।
- नेपालका कुशल भुर्तेलले ५६ बलमा ६६ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले, जसमा ३ चौका र ३ छक्का समावेश थियो।
- कुवेतले नेपालद्वारा प्रस्तुत १४१ रनको लक्ष्य पछ्याउँदै १८.१ ओभरमा ८३ रनमा अलआउट हुँदै पराजय ब्यहो¥यो।
आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक (इएपी) छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।
बुधबार राति भएको खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै पहिलो जित हासिल गर्यो। मैदानमा उपस्थित दर्शकहरूको उत्साह निकै उच्च रहेको थियो।
ओमानमा ठूलो संख्यामा उपस्थित नेपाली दर्शकले नेपालको हरेक रन र विकेटमा खुशी व्यक्त गरे। नेपाली दर्शकहरू विश्वका जुनसुकै स्थानमा नेपालले खेल्दा पनि उत्साहपूर्वक सहभागि हुने गरेका छन्। नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार जापानसँग प्रतिस्पर्धा गर्नेछ।
बुधबारको खेलमा नेपालले २० ओभरमा १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो। कुवेतका लागि ओपनर क्लिन्टोन एन्टोले २६ रन बनाउँदा सर्वाधिक रन बनाए। यसका अतिरिक्त यसिन पटेलले १९ र मिट भावसरले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए भने सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले १-१ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेले। उनले ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले १६ रन योगदान दिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान २०-२० रन बनाए।
ओमान क्रिकेट एकेडेमी १ मा भएको खेलमा कुवेतका नभिनरजा राजेन्द्रन र अनुदिप चेनथामरनले समान २-२ विकेट लिए भने मोहम्मद अकिफ र मोहम्मद अस्लामले १-१ विकेट लिए।