
- जसपा नेपालले केही मुलुकहरूले नेपाली नागरिकका भिसा रद्द गर्नुमा ओली सरकारलाई जिम्मेवार ठहर गरेको छ।
- पार्टीले २०८२ साल भाद्रको आन्दोलनमा अराजकतत्वहरूको कारण मुलुकको जनधनमा अपूरणीय क्षति भएको बताएको छ।
- तत्कालीन सरकारले अन्तर्राष्ट्रिय मिडिया र सामाजिक सञ्जालमा रोक लगाउँदा युवा वर्ग आक्रोशित भएका ठहर गरिएको छ।
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपाली नागरिकलाई रोजगारी प्रदान गर्दै आएका केही मुलुकहरूले वर्किङ्ग भिसा, टुरिष्ट भिसा र भिजिट भिसा रद्द गर्नुमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार जिम्मेवार रहेको निष्कर्ष निकालेको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
जसपा नेपालका अनुसार, “सरकार, सेना, प्रहरी र प्रशासनले चाहेको भए मुलुकलाई ठूलो जन–धनको क्षति हुनबाट जोगाउन सक्थ्यो, तर जोगाउने प्रयास किन गरिएन भन्ने रहस्यमय छ। केही मुलुकहरूले नेपाली नागरिकलाई रोजगारीको अवसर दिने भिसा रद्द गरेका छन्, यसको जिम्मेवार तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार नै हो।”
पार्टीका अनुसार, २०८२ साल भाद्र २३ र २४ गतेको आन्दोलनमा प्रतिगमनकारी, अराजकतत्व र षड्यन्त्रकारी तत्वहरूले विभिन्न राजनीतिक दलका कार्यालय, राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, न्यायपालिका तथा कार्यपालिका भवन, होटल, उद्योग–कलकारखाना, व्यापारिक मल, कारागार र सरकारी तथा निजी भवनहरूमा तोडफोड, आगजनी र लुटपाटजस्ता अपराधिक गतिविधि सञ्चालन गरी मुलुकमा अपूरणीय क्षति पुर्याएको थियो।
पूर्ण बस्नेतका अनुसार, तत्कालीन सरकारले लगभग २६ वटा अन्तर्राष्ट्रिय मिडिया र सामाजिक संजाल– फेसबुक, वाट्स्याप, इन्स्टाग्राम लगायतमा रोक लगाएको कारण नेपाली जनता, विशेषगरी युवा वर्ग, निकै आक्रोशित भएका थिए। जसपाको निष्कर्ष अनुसार भाद्र २३ गते युवा पुस्ताले सुशासन, असमानता नियन्त्रण, भ्रष्टाचार न्यूनिकरण र न्याय सुनिश्चित गर्न आन्दोलन गरे पनि तत्कालीन सरकारले दमनकारी नीति अपनाउँदै राज्य आतङ्कको प्रयोग गरेको छ।
पार्टीले मुलुकलाई क्षति पुर्याउने दोषीहरूको छानबिन गरी कानुन बमोजिम कार्यवाही गर्न र पिडीतहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेको छ।