
- अभिनेता दयाहाङ र विजय बरालले मण्डला थिएटरबाट प्रारम्भ गरी ‘वरिष्ठ बलराम’मा शक्तिशाली भूमिकामा दोबारा आगमन गरिरहेका छन्।
- निर्देशक सुरेन्द्र पौडेलको यो फिल्म स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षमा आधारित छ, जहाँ दयाहाङ र बरालको टकराव देख्न पाइन्छ।
- बरालले सिनियर दयाहाङसँग भूमिका खेल्दा कठिनाइ महशुस गरे, तर चरित्र निभाउन हिचकिचाहट मान्नु नहुने बताएका छन्।
अभिनेता दयाहाङ र विजय बराल रंगमञ्च हुँदै चलचित्रमा स्थापित भए। दुवै मण्डला थिएटरबाट संघर्ष सुरू गरेका थिए। दयाहाङका मूल पात्रको रुपमा स्थापित भइसक्दा बराल संघर्षमै थिए। जब रामबाबु गुरुङको ‘कबड्डी’ फिल्म बन्यो अनि दयाहाङ नायक र बराल ‘सपोर्टिङ एक्टर’का रुपमा अब्बल साबित भए। तर सिनेमा क्षेत्रमा लागेको कलाकार कहाँ ‘क्लिक’ हुन्छ भनेझैं बराल ‘पूर्णबहादुरको सारङ्गी’ मूल पात्रमा स्थापित भए। त्यसपछि निर्देशक निर्माताहरु अहिले राई र बराललाई समानान्तर भूमिकामा राखेर फिल्म निर्माण गरिरहेका छन्। उनै दुवैको धमाकेदार कमब्याक ‘वरिष्ठ बलराम’मा हुँदैछ।
कार्तिक ६ गते भाइटीकाको दिन प्रदर्शन हुन लागेकाे विरष्ठ बलराममा स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथामा आधारित फिल्ममा राई र बरालले चुनौती दिने रोल निर्माण टिमले बताएकाे छ।
दयाहाङकाे फिल्म ‘कबड्डी’देखि ‘जारी’सम्म आइपुग्दा बराल सहायक भूमिकामा देखिँदै आएका थिए। तर फिल्म वरिष्ठ बलराममा भने बराल र राई प्रतिस्पर्धीका रुपमा देखिँदै छन्। एकअर्कालाई चुनाैती दिँदै छन्। दुवैकाे शक्तिशाली भूमिका रहेकाे छ।
सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्मलाई लिएर राई निकै आशावादी छन्। ‘इज्जत बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा बरिष्ठ बलराममा पाइन्छ’ राईले भनेका छन्।
अभिनेता बरालले यो फिल्म सामान्य व्यक्तिबाट वरिष्ठ हुन चाहना राख्ने सोचको कथा भएको बताएका छन्। व्यक्तिमा रहेको सोचबीचको टकराब फिल्मको मूल कथा रहेको उनले बताए।
बरालले सिनियर कलाकार दयाहाङसँग सिनेमामै भए पनि घम्साघम्सी र टकराब लिन केही कठिन भएको अनुभव सुनाएका छन्। ‘अग्रज र मैले मान्ने भएकाले दाई के गरौँ, कसरी गरौँ भन्थेँ। दाइले अप्ठ्यारो नमान, यसरी गर भनेपछि, म गर्थेँ। अग्रज र सधैँ सम्मान गर्ने कलाकार भएकाले केही अड चाहिँ हुनेरहेछ,’ बरालले भने।
दयाहाङले सेटमा व्यक्ति भन्दा पनि चरित्र हुने भएकाले सिनियर र जुनियर भन्न नहुने बताउँछन्। उनले रंगकर्मी निर्देशक अनुप बरालसँग काम गर्दाका अनुभव पनि सुनाएका थिए।
‘उहाँले चरित्रमा गुरुचेला हुँदैन, मनका कुरा पोख्ने मौका पनि यही हो’ दयाहाङ भन्छन्, ‘मनमा लागेका कुरा पाेख्न चरित्रभन्दा माथि चाहिँ जानु भएन। चरित्र निभाउन हिचकिचाहट मान्नु हुँदैन।’
फिल्म कबड्डीमा स्थापित जाेडीका रूपमा परिचित राई र बरालले दर्शककाे मन पनि जित्न सफल भएका थिए । दुवै हिराेकाे रुपमा स्थापित भएकाे याे अवस्थामा भने दर्शकले कसरी लिन्छन् कार्तिक ६ पछि नै थाहा हुनेछ।