
काठमाडौँ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्ने दाबी भ्रम मात्र भएको बताएका छन्।
बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले चुनावको वातावरण बनाउन कुनै पहल नगरेको र राजनीतिक दलहरूसँग परामर्श समेत नगरेको गुनासो उठाए। उनले वर्तमान सरकार राजनीतिक दलहरूको परामर्श अनुसार नभएको भन्दै आपत्ति जनाए।
उनले भने, “यो सरकार चुनाव गराउन चाहन्छ भन्नेकुरा भ्रम मात्रै हो। सरकारले चुनावको वातावरण तयार गर्न कुनै प्रकारको पहल गरेको अनुभूति न त नागरिकले गरेका छन्, न त राजनीतिक दलहरूले। सुरक्षा अंगहरूले पनि सरकार शान्ति सुरक्षामा जिम्मेवार र प्रतिवद्ध छ भन्ने अनुभूति गर्न सकेका छैनन्। २४ गतेको घटनापछि जब हाम्रो अध्यक्षले राजीनामा दिनुभयो, त्यसपछि प्रमुख राजनीतिक दलहरूले निकासका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए। हामी सहयोग गर्न तयार थियौं, तर हाम्रो सदाशयतालाई उपेक्षा गर्ने काम भयो।”
महासचिव पोखरेलले संविधान भित्रैबाट सरकार गठनको प्रक्रिया अघि बढाउन प्रमुख दलहरूले गरेको आग्रहलाई उपेक्षा गर्नु स्वीकार्य नहुने बताएका छन्।