
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन घटनाको छानबिन गर्न बनेको आयोग नमान्ने बताएका छन्।
गुण्डुमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले घटनाको छानबिन गर्न बनेको आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि प्रश्न उठेको भन्दै एमाले र जनताले नमान्ने बताएका हुन्।
उनले आयोगमा बस्नुभन्दा अगाडिका अभिव्यक्तिहरुमाथि प्रश्न उठिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ थियो।
सम्पत्ति छानबिनको कुरा उठिरहेको भन्दै अहिलेका सरकारका मन्त्रीहरुको सम्पत्ति छानबिन गर्न मान्ने हो? भन्दै प्रश्न गरे। नेकपा एमालेलाई यस्ता नक्कली आयोग मञ्जुर नरहेको उनले बताए।
उनले भने, ‘एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन। किन पनि मञ्जुर छैन भने गम्भीर प्रश्नहरु उहाँहरुका अभिव्यक्तिहरु, आयोगमा राखिनुभन्दा अगाडि, आयोगमा बस्नु भन्दा अगाडिका अभिव्यक्तिहरुको प्रश्न उठिसकेपछि सप्रमाण देखिसकेपछि उहाँहरुले नैतिकताका आधारमा राजीनामा दिनु पर्दैन थियो? उहाँहरुले हामी निष्पक्ष छौँ भन्न सक्नुभएको छैन। लुसुलुसु अघि बढ्नुभएको छ, बढ्नुस्। तपाईंहरुको प्रतिवेदन लेख्नुस्। बुझाउनुस्, फैसला गर्नुस्। एमालेलाई मान्य छैन, नेपाली जनतालाई मान्य छैन। मान्दैनौँ हामी, गर्नुस्, केके गर्नुहुन्छ?’