
- गगन थापाले पार्टीको बैठकमा विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनको प्रस्ताव गरेका छन्।
- विशेष महाधिवेशनको माग गर्न प्रतिनिधिहरुको ४० प्रतिशत हस्ताक्षर जुटाउने प्रयास चलिरहेको थियो।
- विशेष महाधिवेशनको जटिलताका कारण थापाले नियमति महाधिवेशनलाई अघि बढाउन प्रस्ताव गरेका हुन्।
काठमाडौँ – विशेष महाधिवेशनको माग गर्न हस्ताक्षर अभियानको अगुवाइ गरेका कांग्रेस महामन्त्री गगन थापाले पार्टीको औपचारिक बैठकमा भने नियमित महाधिवेशनको प्रस्ताव गरेका छन्।
जेनजी आन्दोलनपछि बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा थापाले नियमित महाधिवेश गर्न प्रस्ताव गरेका हुन्।
बैठकबाट बाहिरएका पूर्वमहामन्त्री शशांक कोइरालाले थापाले आउँदो मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने प्रस्ताव गरेको जानकारी दिए।
पार्टीलाई विशेष महाधिवेशन माग गर्न चाहिने प्रतिनिधिहरुको ४० प्रतिशत हस्ताक्षर जुटाउन अर्का महामन्त्री विश्वप्रकाश शर्मा र थापाले संयुक्त रुपमा पहल गरिरहेका थिए।
कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल आउँदो मंसिरमा सकिँदै छ। विशेष अवस्थामा एक वर्ष कार्यकाल थप्न सकिने सुविधा कांग्रेस विधानले दिएको छ। जेनजीको आक्रमणमा परेपछि स्वास्थ्य लाभ गरिरहेका सभापति शेरबहादुर देउवा बिहीबार बैठकमा उपस्थित भएनन्। उपसभापति पूर्णबहादुर खड्काले बैठकको सभापतित्व गरेका हुन्।
विशेष महाधिवेशनम जान पनि एक वर्ष कार्यकाल थप्नुपर्ने जटिलता उत्पन्न भएपछि महामन्त्रीहरु नियमति महाधिवेशनकै पक्षमा उभिएका हुन्।
कांग्रेस विधानको धारा ४३ ले सबै तहको कार्यकाल चार वर्ष हुने व्यवस्था गरेको अवस्थामा अघिल्लो महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरुको कार्यकाल नै असोज पहिलो साता सकिएको छ।
प्रतिनिधिहरुलाई बैधानिक बनाउन केन्द्रीय कार्य समितिले नै कार्यकाल थप्नुपर्ने अन्यथा वैधता गुमाएका प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनले आकार नै ग्रहण नगर्ने स्थिति बनेपछि महामन्त्री थापा नियमित महाधिवेशनको प्रस्ताव गरेको कांग्रेस स्रोतले बतायो।
कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया ०७८ भदौ १८ गतेदेखि सुरु भएर मंसिर २८ गते सम्पन्न भएको थियो। जसमा महाधिवेशन प्रतिनिधिहरु असोजको पहिलो साता चयन भएका थिए। एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाको महाधिवेशन प्रतिनिधिको चयन ०७८ असोज ५ गते भएको थियो भने एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको चयन असोज १० गते भएको थियो।
थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेसँगै कांग्रेसमा विशेष महाधिवेशनको बहस सकिएको छ। नियमित महाधिवेशनका लागि सबैभन्दा पहिला क्रियाशिल सदस्यता टुंग्याउनुपर्ने छ। नवीकरणको काम धमाधम भइरहे पनि नयाँ क्रियाशिल सदस्यता भने कांग्रेसले खुला गरेको छैन।