
काठमाडौँ – नेपाली कांग्रेसले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले तोडफोड, आगजनी र लुटपातमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने पक्षमा नेताहरुले धारणा राखेको बताए।
उनले जेनजीका आन्दोलनकारीलाई कारबाही नगर्ने गृहमन्त्री ओमप्रकाश अर्यालको अभिव्यक्तिप्रति आपत्तिसमेत जनाए।
उनका अनुसार बैठक पार्टीको अधिवेशनको विषयमा केन्द्रित थियो। बैठकमा नेताहरुबीच अधिवेशन नियमित समयमा गर्ने कि नगर्ने विषयमा मतभेद रहेका कारण ठोस निष्कर्षमा नपुगेको महतको भनाइ छ। बैठकमा केही नेताहरु बोल्न बाँकी रहेकाले फेरी भोलि छलफल हुने उनले बताए।
जेन–जी आन्दोलनको क्रममा भएको लुटपाट र आगजनी तथा राष्ट्रिय राजनीतिको विषयमा पार्टीले यही असोज २६ गते बस्ने कार्यसमिति बैठकबाट आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ।