
- प्रधानन्यायाधीश राउतले न्यायिक सेवा दिनरात काम गरी सुचारु गर्न सबै पक्षलाई सहयोगको आह्वान गरेका छन्।
- सर्वोच्च अदालतको सूचना प्रविधि रिकभर भएलगत्तै पूर्ण सञ्चालन गर्ने तयारी भइरहेको छ।
- नेपाल बारले अदालतहरूको नियमित सञ्चालनका लागि सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौं- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हक मर्न नदिने उल्लेख गर्दै सेवा सुचारु गर्न दिनरात काम भइरहेको बताएका छन्।
सर्वोच्च अदालतमा नेपाल बार एशोसिएसनका अध्यक्षसहित पदाधिकारीहरु, सर्वोच्च बार एशोसिएसनका अध्यक्ष तथा सचिव, महान्यायाधिवक्ता सविता भण्डारी बराल, नायब महान्यायाधिक्ताहरु, उपत्यका बार एशोसिएसनका अध्यक्ष तथा सचिवहरुसँग छलफल गर्दै प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतको सेवा शिघ्र सञ्चालन गर्ने बताएका हुन्। उनले सर्वोच्च अदालतलगायत जलेका ३३ वटा अदालतबाहेक अन्य अदालतको काम तत्काल सुचारु गर्ने र बाँकी अदालतमा पनि शिघ्र दैनिक गतिविधि सञ्चालन गर्ने जानकारी दिए।
प्रधानन्यायाधीश राउतले छलफलमा भने, ‘सर्वोच्च अदालतको सूचना प्रविधिको ‘रिकभर’ हुनेबित्तिकै सर्वोच्च अदालत पूर्ण रुपमा सञ्चालन हुन्छ।’
प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतको पूर्ण बैठक राखेर छलफल गरी थप धारणा सार्वजनिक गर्ने पनि बताए।
छलफलका क्रममा नेपाल बारका अध्यक्ष प्रा. डा. विजय मिश्रले सर्वोच्च अदालतसहित देशभरका अदालत नियमित रुपमा सञ्चालन गर्नुपर्ने तथा बार र कानुन व्यवसायीसँग भएको मुद्दाका मिसिल झिकाउन सहयोग गर्ने बताएका थिए।
छलफलका सहभागी नेपाल बारका महासचिव केदार कोइरालाले अदालतका दैनिक क्रियाकलाप शिघ्र सञ्चालन गर्न सबै पक्षबाट सहयोगको प्रतिबद्धता गरिएको उल्लेख गरे। सूचना प्रविधि रिकभर गर्न सर्वोच्च अदालत नेतृत्व लागिरहेको उनले देशसञ्चारसँग बताए। जलेका ३३ वटा अदालतमा काम सुरु गर्न केही समय लागे पनि तीबाहेक अन्य अदालतमा तत्काल काम सुरु गर्ने प्रतिबद्धता छलफलका क्रममा आएको जानकारी कोइरालाले दिए।
भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतलगायत देशभरिका न्यायपालिकाका कार्यालयहरू जलाइनुका साथै मिसिलहरू पनि जलाइँदा रिट दर्ता, सुनुवाइलगायत अदालतका दैनिक काम नै प्रभावित बनेका छन्।