
- बजारी चौधरी, घोराही उपमहानगरपालिका निवासी, खेतीपातीमा पहिलेको भन्दा अब सहज अनुभव गर्दै छन्, जसको श्रेय कृत्रिम ताललाई छ।
- कालुराम चौधरीले कृत्रिम तालबाट सिँचाइ गरेर तरकारी खेती गरी घरखर्च चलाइरहेका छन्, जसले कष्ट न्यून गरेको छ।
- लुम्बिनी प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको लगानीमा बनेको तालले सिँचाइ, पर्यावरणीय लाभ, र पर्यटक आकर्षण बढाएको छ।
दाङ – घोराही उपमहानगरपालिका–२ बुका निवासी ६८ वर्षीया बजारी चौधरी अहिले खेतीपातीमा सहज अनुभव गर्दै छन् । पहिले निकै अप्ठ्यारो थियो । चरिङ्गे दहको पानी लाग्थ्यो । सितमा रातभर पालो कुर्नुपर्थ्यो । दिउँसो पानी कहिले आउने, कहिले नआउने निश्चितता थिएन । रातमा पालो कुर्नु पर्ने अवस्था थियो ।
‘पहिले पानी नभएर मरुभूमि जस्तै सुख्खा थियो, ‘ बजारी चौधरीले भने, ‘अहिले ड्यामको पानी भएपछि धेरै सजिलो भयो । अहिले वर्षामा धान र हिउँदमा गहुँ खेती गर्न सजिलो भएको छ । तरकारी पनि फलाउँछौं । गहुँ पनि चारिन्छ । धान खेती पनि राम्रो हुन्छ ।’
त्यस्तै, कालुराम चौधरीले फूलगोभी र टमाटर खेती गर्दै आएका छन् । घोराही उपमहानगरपालिकाले निर्माण गरेको कृत्रिम तालबाट सिँचाइ गरेर उनले तरकारी फलाउँछन् । तरकारी बिक्रीबाट हुने आम्दानीले उनी घरखर्च चलाउँछन् । ‘यो ड्याम त हाम्रा लागि बरदान नै बन्यो,’ उनले भने, ‘पहिले पानी नहुँदा सुख्खा थियो । अहिले चारैतिर हरियाली छ।’
लुम्बिनी प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको संयुक्त लगानीमा आर्थिक वर्ष २०७५/०७६ मा वडा नम्बर १ र २ मा पर्ने चेपे सोता क्षेत्रमा यो ताल निर्माण गरिएको हो । ताल बनेसँगै यो स्थल आन्तरिक पर्यटकको रोजाइमा समेत परेको छ ।
साढे सात विगाहा क्षेत्रफलमा फैलिएको यो ताललाई बहुउद्देश्यीय रूपमा प्रयोग गरिएको छ । सिँचाइ र माछापालनसँगै यसले वातावरणीय र पर्यटन आकर्षण पनि बढाएको छ ।
ताललाई आम्दानीको स्रोत बनाउने, कृषिमा व्यवसायीकरण गर्ने, माछापालन गर्ने र डुंगामा सयर गराई मनोरञ्जनसँगै आयमुखी बनाउने उद्देश्यसहित निर्माण गरिएको हो । यसको सञ्चालनको जिम्मेवारी स्थानीय बासिन्दालाई नै दिइएको छ । हाल घोराही क्षेत्रमा ४३ भन्दा बढी कृत्रिम ताल निर्माण भइसकेका छन् । जसबाट किसानले प्रत्यक्ष लाभ लिएका छन् ।