
- गुण्डुमा अधिकांश किसान मखमली फूल टिपेर माला उन्नमा व्यस्त भएता पनि उचित मूल्य नपाएको गुनासो गरेका छन्।
- किसानले मुनाफा थोरै भएको बताउँदै, सरकारलाई मालाको मूल्य निर्धारण गर्न पहल गर्न आग्रह गरेका छन्।
- विचौलियाका कारण किसानले उचित मूल्य नपाउने हुँदा बजार अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
भक्तपुर- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गएको छ। तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको माला बढी प्रयोग हुने भएकाले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुका अधिकांश किसान यतिबेला मखमली फूल टिपेर माला उन्नमा व्यस्त छन्।
तर मागअनुसार फूल उत्पादन गरे पनि किसानहरूले उचित मूल्य नपाएको गुनासो गरेका छन्। गुण्डुका धेरैजसो किसान मखमली फूलको खेतीमा संलग्न छन्। किसान सहदेव बस्नेतले पछिल्ला वर्षहरूमा परिश्रमअनुसार मालाको मूल्य नपाएको बताए। उनका अनुसार पछिल्लो तीन–चार वर्षयता मालाको मूल्य क्रमशः घट्दै गएको छ। “१० वर्षअघि प्रतिगोटा ३३ रुपैयाँसम्म माला बिक्री हुने गर्थ्यो, अहिले भने १८ देखि २३ रुपैयाँमै बेच्नुपर्छ,” उनले भने।
किसान गंगा थापाले पनि बस्नेतकै जस्तै गुनासो गर्दै, दुःख गरेअनुसार मुनाफा नआएको बताइन्। करिब २० वर्षदेखि मखमली खेती गर्दै आएकी उनले मालाको मूल्य निर्धारण गर्न सरकारले पहल गर्नुपर्ने माग गरिन्। “सरकारले दशैंमा खसीबोकाको भाउ निर्धारण गरेजस्तै तिहारमा मालाको मूल्य पनि तोक्नुपर्छ,” उनले भनिन्। उनका अनुसार यहाँका किसानले मागअनुसार फूल उत्पादन गरे पनि बीउको गुणस्तर र रोगको समस्या अझै समाधान भएको छैन। “किराले काट्ने, धेरै पानी परेमा उम्रिन नपाउने, कुहिने जस्ता समस्या छन्,” उनले थपिन्।
किसान निर्मला बस्नेतले भने यो वर्ष गत वर्षको भन्दा मखमली मालाको माग बढी रहेको बताइन्। उनका अनुसार व्यापारीहरू माला लिनका लागि घरमै पुग्ने गरेका छन्। “यो वर्ष मैले १ हजार २ सय माला बेचिसकेँ, गत साल दुई हजार माला बेचेकी थिएँ,” उनले भनिन्।
यस्तै, किसान राधा थापा र अनिता बस्नेतले मालाको निश्चित मूल्य निर्धारण गर्नुपर्नेमा जोड दिँदै, मूल्यदर नहुँदा विचौलियाहरूले मात्र फाइदा लिने गरेको गुनासो गरे।
फूल उत्पादक किसानहरूले सरकारले बजार अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूका अनुसार विचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने स्थिति सिर्जना भएको छ।