-  लेखक छुदेन काविमोलाई ‘उरमाल’ पुस्तकका लागि मदान पुरस्कार र गायक प्रेमदेव गिरीलाई जगदम्बा–श्री पुरस्कार अर्पण गरियो।
 -  ‘उरमाल’ पुस्तकले दार्जिलिङका चिया बगान मजदुरहरूको कथा प्रस्तुत गर्नुका साथै मदान पुरस्कार प्राप्त गर्यो।
 - प्रेमदेव गिरीलाई पाँच दशकदेखि लोक भाका सङ्कलन र संरक्षणमा योगदान गरेकाले जगदम्बा–श्री पुरस्कार प्रदान गरियो।
 
ललितपुर- लेखक छुदेन काविमोलाई मदान पुरस्कार र लोक गायक प्रेमदेव गिरीलाई जगदम्बा–श्री पुरस्कार अर्पण गरिएको छ।
मदान पुरस्कार गुठीले २०८१ सालमा प्रकाशित कृतिमध्येबाट छानेर काविमोलाई ‘उरमाल’ पुस्तकका लागि उक्त पुरस्कार दिने निर्णय गत भदौ ६ गते गरेको थियो। ‘उरमाल’ पुस्तकले दार्जिलिङका चिया बगानमा काम गर्ने मजदुरहरूको कथा प्रस्तुत गर्छ।
त्यस्तै, प्रेमदेव गिरीलाई विगत पाँच दशकदेखि लोक भाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान गरेको भन्दै २०८१ सालको जगदम्बा–श्री पुरस्कार अर्पण गरिएको गुठीले जनाएको छ।
ललितपुरस्थित राताे बंगला स्कुलमा आयोजित विशेष समारोहमा दुबै पुरस्कार औपचारिक रूपमा हस्तान्तरण गरिएका हुन्। कार्यक्रममा कुन्द दिक्षितको अध्यक्षता र प्रा. डा. विणा पौडेलको विद्वत् वचन रहेको थियो। पौडेलले नेपाली मूर्तिहरू र सांस्कृतिक धरोहरप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएकी थिइन्।
मदान पुरस्कार गुठी २०१३ सालमा स्थापना भएको हो। पहिलो मदन पुरस्कार गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ र विज्ञान विद्यामा वलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई अर्पण गरिएको थियो।
त्यस्तै, रानी जगदम्बाको निधनपछि २०४५ सालमा ‘जगदम्बा–श्री पुरस्कार’ स्थापना गरिएको हो। यो सम्मान पहिलोपटक गायक नारायण गोपाललाई प्रदान गरिएको थियो।
गुठीका अनुसार, नेपाल तथा विदेशमा नेपाली भाषामा प्रकाशित उत्कृष्ट पुस्तकहरू मध्ये एकलाई मदन पुरस्कार र नेपाली भाषा, वाङ्मय तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्तिलाई जगदम्बा–श्री पुरस्कार अर्पण गरिन्छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































