
- आयोजक एलएक्स सिटी फुटबल क्लबले भारतको लिजेन्ड्स फुटबल क्लबलाई २–० ले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ।
- सनम धिमालले १७ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाए, विवेक पौडेलले २२ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए।
- प्रतियोगितामा विजेता टोलीले तीन किलो चाँदी र डेढ तोला सुनजडित गोल्डकपसहित ८ लाख रुपैयाँ पाउनेछ।
एलएक्स सिटी फुटबल क्लबको विजयी सुरुवात
मोरङ- आयोजक एलएक्स सिटी फुटबल क्लबले मोरङको बेलबारी नगरपालिकामा सुरु भएको आठौं संस्करणको मेजर स्व. एनबी रुंगमाहांग अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
आइतबार अपराह्न सम्पन्न खेलमा एलएक्स सिटीले पाहुना टोली भारतको वेष्ट बंगालस्थित लिजेन्ड्स फुटबल क्लबलाई २–० ले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो।
रोमाञ्चक खेलमा एलएक्सका लागि खेलको १७ औं मिनेटमा सनम धिमालले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलको २२ औं मिनेटमा धिमालकै पासमा विवेक पौडेलले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफमा दुई शून्यले पछि परेको लिजेन्ड्स क्लब दोस्रो हाफमा खेलमा फर्कन सकेन।
गोल्डकप अन्तर्गत आजको अर्को क्वार्टरफाइनल खेल साविक विजेता झापा–११ र भोजपुर फुटबल क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए।
८ टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेता टोलीले तीन किलो चाँदी र डेढ तोला सुनजडित गोल्डकपसहित ८ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ।
कार्तिक १ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक एलएक्स सिटीसँगै भारतको लिजेन्ड्स फुटबल क्लब, झापा–११, सहलेश युवा क्लब, चर्च ब्वाइज युनाइटेड, प्लानिङ ब्वाइज युनाइटेड, रारा फुटबल क्लब राजारानी धनकुटा र भोजपुर फुटबल क्लबको सहभागिता रहेको छ।