
- राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरिव्यवस्थापिका मञ्चको १५१ औं भेलामा सहभागी हुन असोज ३१ गते जेनेभा जानेछन्।
- दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर संघीय संसदको नेतृत्वमा आफू जेनेभा जान लागेको जानकारी गराए।
- मानवीय मान्यताहरु कायम राख्न र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्न थिम रहेको उनले बताए।
काठमाडौँ- राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल जेनेभा जाने भएका छन् ।
अन्तरिव्यवस्थापिका मञ्चको १ सय ५१ औँ भेलामा भाग लिन अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जाने भएका हुन् । आइतवार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग उनले भेट गरेका थिए।
उनले आफ्नो प्रधानमन्त्रीसँगको भेट नियमित जस्तै रहेको र तीन पटक भेटिसकेको जानकारी दिए। प्रधानमन्त्रीसँगको भेटमा संघीय संसदको नेतृत्व गर्दै आफू जेनेभा जान लागेको र त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए ।
मानवीय मान्यताहरु कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम यस वर्षको अन्तरिव्यवस्थापिका मञ्चको रहेको उनले बताए ।
उनले भने, ‘यो नियमित जस्तै पनि हो । मैले दुई,तीन पटक भेटिसकेको छु । १७ तारिकको (यसको ३१ गते) म जेनेभा जाँदैछु । अन्तरिव्यवस्थापिका मञ्चको १ सय ५१ औँ भेला छ । त्यो भेलामा संघीय संसदको तर्फबाट म सहभागी हुन जाँदैछु । त्यसको बारेमा रिपोर्टिङ गर्नु थियो । जानकारी दिनु थियो । त्यसका मूल विषयहरु यसरी सोचेका छु भनेर मौखिक रुपमा विषयवस्तु जानकारी गराएको छु । मानवीय मान्यताहरु कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम छ । गत साल एआईको थियो ।’
आफूले अन्तरिव्यवस्थापिका मञ्चको १ सय ५१ औँ भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने उनले बताए।