
- हुम्लावासीले टासी ल्हान्जोमबारे अनावश्यक टिप्पणी नगर्न आग्रह गर्दै उनलाई स्वाभिमानी नेपाली नारी भनेका छन्।
- सोशल मीडियामा आएका आरोपहरूलाई खण्डन गर्दै उनी लिमी गाउँकी पुरानी सन्तति भएको तथ्यसमेत गराइयो।
- चिम्से आँखा, थेप्चे नाकजस्ता कारणले उनलाई तिब्बतीयन देख्नु उपयुक्त नभएको तर्क जनप्रतिनिधिले अगाडि सारेका छन्।
हुम्ला – नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ लिमीको हल्जी बस्तीकी टासी ल्हान्जोमबारे अनावश्यक टिप्पणी नगर्न हुम्लावासीले आग्रह गरेका छन्। वर्तमान सरकार बिस्तार हुन लागेको मन्त्रीमण्डलमा उनको नाम पनि चर्चामा आएसँगै उनका बारेमा टिप्पणी भइरहेका बेला हुम्लाका राजनीति नेतृत्व र जननप्रतिनिधिले सो आग्रह गरेका हुन्।
ल्हान्जोमबारे जानकारी गराउँदै कर्णाली प्रदेश सभाका सदस्य एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले एक देशभक्त, लिमी हल्जी गाउँका धनीमानी ब्यक्ति कुतु तामाङकी नातिनी भएको जानकारी दिँदै हुम्लामा लिमी बस्ती जति पुरानो हो, उनको पनि त्यति नै पुरानो हुम्लावासीको सन्तति भएको बताए।
ल्हान्जोमबारे सामाजिक सञ्जालमा आएको टिप्पणी अनावश्यक, नबुझी गरिएको खण्डन भएको उनको भनाइ छ। एउटा स्वाभिमानी नेपाली नारीलाई बिभिन्न लान्छाना नलगाउन पनि उनले आग्रह गरेका छन्। पुख्र्याैली घर लिमी भएकी ल्हान्जोमका बुवाले आजको मितिसम्म पनि लिमीको हल्जी गाउँँ नछोडेको बताउँदै कसरी छोरी तिब्बतीय हुन सक्ने भन्दै आरोप लगाउनेलाई उनले प्रश्न गरे।
कुनै समय उनका बाजेका डेढ दुई सय चौरी र एक हजार दुई सय भेडाच्याङ्रसमेत भएको उनले सबैलाई स्मरण गराए। त्यसैगरी हुम्ला जिल्लाका निवर्तमान सांसद छिरिङ डम्डुल लामाले आज हुम्ला जिल्ला नाम्खा गाउँपालिका–६ को हल्जी गाउँ निबासी लाक्पा छिरिङ तामाङ्गको छोरी “टासी ल्हाजोम “ खास नेपाली भएकोमा द्विविधा नभएको बताए।
टासी ल्हान्जोम हुम्ली चेली, हिमालकी छोरी भएकै कारण नेपाली नागरिक भएको स्मरण गराउँदै ल्हान्जोमको पुर्खाले युगौँदेखि नेपालको उत्तरी सिमानाको रक्षा गर्दै आएको समेत बताए।
उल्टै चिम्से आँखा, थेप्चे नाक, गोरो वर्ण र भोटे लामा भाषा बोलेकै कारण नेपालको उत्तरी सिमा रक्षक भएर वस्नेलाई सधैं तिब्बतीयन देख्न उपयुक्त नहुने उनको भनाइ छ।
त्यसैगरी लिमीका वडाध्यक्ष पाल्जोर तामाङले ल्हान्जोमलाई तिब्बती भनेर लगाएको आरोप सरासर गलत भएको बताए। आफू पनि सोही गाउँको स्थायी बासिन्दा भएको कारण ल्हान्जोम जन्मेदेखिको कुरा आफूलाई स्पष्ट थाहा भएको उनले बताए।