
दाङ – प्रहरीले लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
घोराही उपमहानगरपालिका–१२ हापुर खोलानजिक सडकबाट अस्थायी प्रहरी चौकी हापुरका प्रहरी निरीक्षक मानबहादुर थारुको कमाण्डमा खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा दुई जना युवकलाई शंकास्पद अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका २४ वर्षीय पियुस जिसीले चलाएको रा ७ प ४२८२ नम्बरको मोटरसाइकल र त्यसमा पछाडि सवार तुलसीपुर–६ का २० वर्षीय एलिक्स केसीलाई जाँच गर्दा पियुसको झोलामा ट्रामाडोल एचसीएल क्याप्सुल (५० एमजी) लेखिएको ४० पत्ता अर्थात् ४०० क्याप्सुल फेला परेको थियो।
सोधपुछको क्रममा पियुसले उक्त लागुऔषध घोराही उपमहानगरपालिका–९ घर भई हाल बुद्धीग्यारेज बस्ने ५३ वर्षीय खुमबहादुर खत्रीबाट खरिद गरेको बयान दिएपछि प्रहरी निरीक्षक सोम घर्तिमगरको कमाण्डमा अर्को टोली खटाइएको थियो।
सोही क्रममा घोराही–१५ नवज्योति टोलनजिक सडकमा खुमबहादुर खत्रीलाई रा २ प ५०७८ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
खानतलासी गर्दा मोटरसाइकलको लेगगार्डमा झुण्ड्याइएको झोलाभित्र ट्रामाडोल एचसीएल क्याप्सुल (५० एमजी) लेखिएको ५६ पत्ता (५६० क्याप्सुल) फेला परेको थियो। साथै, खत्री बस्ने घरमा थप खानतलासी गर्दा दराजभित्र सोही क्याप्सुलका ४८ पत्ता (४८० क्याप्सुल) बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
यसरी प्रहरीले तीनै जना व्यक्ति, दुई वटा मोटरसाइकल र जम्मा १ हजार ४४० वटा ट्रामाडोल क्याप्सुल नियन्त्रणमा लिएको छ। उनीहरूलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।