
- कटहरी गाउँपालिकामा महिलाले पुरुषको संवेदनशील अंग धारिलो हतियारले काटेर गम्भीर घाइते बनाएको घटना भएको छ।
- आक्रमणमा परेका पुरुषलाई सुरुमा कोशी अस्पताल र पछि नोबेल शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको थियो।
- विवाद भएपछि महिलाले धारिलो हतियारले आक्रमण गरेकी थिइन् र प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ।
मोरङ- मोरङको कटहरी गाउँपालिकामा एक महिलाले पुरुषको संवेदनशील अंग काटिदिएकी छिन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका- ३ का ३२ वर्षीय कामत थरका पुरुष सोमबार बेलुका भेट्न पुगेकी महिला साथीबाटै आक्रमणमा परेका हुन्।
प्रहरीका अनुसार ती पुरुषलाई महिलाले धारिलो हतियार प्रयोग गरी लिङ्गमा प्रहार गरेकी थिइन्। गम्भीर घाइते भएका पुरुषलाई सुरुमा विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि लगिएको थियो।
संवेदनशील अंगमा गहिरो चोट लागेका कारण चिकित्सकले उनलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरेका थिए। हाल ती पुरुषको नोबेल अस्पतालको आईसीयूमा उपचार भइरहेको बताइएको छ।
घाइते पुरुष विवाहित रहेको र उनका एक श्रीमती तथा तीन सन्तान रहेको परिवारजनले बताएका छन्।
प्रहरीका अनुसार आक्रमण गर्ने महिला कटहरीमै कोठा भाडामा लिएर बस्दै आएकी थिइन्, जहाँ घाइते पुरुष विगतदेखि भेट गर्न जाने गरेको बताइएको छ। सोमबार पनि ती पुरुष महिलाको डेरामा पुगेका बेला विवाद भएपछि घटनाको उत्पत्ति भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
विवादको क्रममा महिलाले डेरामा रहेको धारिलो हतियार (दाउ) प्रयोग गरी आक्रमण गरेकी थिइन्। त्यस क्रममा महिला स्वयं पनि बेहोस भएकी थिइन्। उनलाई पनि कोशी अस्पताल पुर्याइएको थियो। होस खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जनाएको छ।