
- शिखर इन्स्योरेन्सले असहज परिस्थितिमा २२४ वटा बीमा दाबी भुक्तानी गरी रु. ४३ करोड वितरण गरिसकेको छ।
- कागजात अपूर्ण भए पनि अग्रिम भुक्तानी गरी छिटो सेवा दिन कम्पनीले सरल प्रक्रिया अपनाएको छ।
- कम्पनीले २४/७ कल सेन्टर र दाबी सहायता डेस्क सेवा मार्फत ग्राहकलाई सहज सेवा प्रदान गर्ने जनाएको छ।
काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र २३ र २४ गतेको असहज घटना तथा परिस्थितिका कारण सम्पत्तिमा क्षति भएका आफ्ना बीमितहरूलाई द्रुत गतिमा बीमा दाबी भुक्तानी गरिरहेको जनाएको छ ।
कम्पनीले राष्ट्र पुनर्निर्माणको यात्रामा सहयात्राको प्रतिवद्धता अनुरूप दाबी भुक्तानीलाई प्राथमिकता दिएको बताएको छ।
कम्पनीका अनुसार हालसम्म कुल १७४ बीमितहरूबाट ४३३ वटा बीमा दाबी प्राप्त भएकोमा २२४ वटा बीमा दाबीको भुक्तानी भइसकेको छ । यसरी प्राप्त कुल दाबी संख्याको ५२ प्रतिशत दाबीको भुक्तानी भइसकेको हो । भुक्तानी गरिएको कुल रकम रु. ४३ करोड रहेको छ ।
कम्पनीले प्राप्त कुल दाबी रकम रु. २४१ करोड रहेकोमा कम्पनीको खुद हिस्सा करिब रु. ३७ करोड मात्र हुने जानकारी गराएको छ ।
कागजात अपूर्ण भए पनि अग्रिम भुक्तानी
शिखर इन्स्योरेन्सले बीमितहरूबाट बीमा दाबीका लागि आवश्यक कागजातहरू पूर्ण रूपमा प्राप्त नभएको अवस्थामा समेत भौतिक रूपमा दाबी यकिन गरी क्षतिको प्रकृति अनुरूप सर्भेयरको प्रतिवेदनको आधारमा अग्रिम दाबी भुक्तानी गर्दै आएको बताएको छ ।
दाबी फछ्र्यौटमा ढिलाइको कारण
यस विषम परिस्थितिमा केही दाबीहरूको पूर्ण रूपमा फछ्र्यौट गर्न ढिलाइ भइरहेको कम्पनीले जनाएको छ । यसको प्रमुख कारण बीमितहरूबाट प्रहरी कार्यालयबाट आवश्यक प्रहरी प्रतिवेदन तथा पूर्ण रूपमा जलेर नष्ट भएको मोटरको दर्ता खारेजको प्रमाणपत्र प्राप्त हुन भएको ढिलाइ हो । कम्पनीले सम्बन्धित निकायहरूबाट बीमा दाबीका लागि आवश्यक कागजातहरू यथाशिघ्र उपलब्ध गराइदिन समेत हार्दिक अनुरोध गरेको छ ।
सहज सेवाका लागि नयाँ पहल
कम्पनीले दाबी प्रक्रियालाई सहज र सरल बनाउन सरल दाबी प्रक्रिया, डिजिटल सेवाका साथै, दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा प्रदान गरिरहेको छ । क्षति मूल्याङ्कनका लागि कम्पनीबाट खटाइएका सर्भेयर तथा कर्मचारीहरूले ग्राहकहरूलाई प्रत्यक्ष सहजीकरण गर्दै आएका छन् ।
यसका साथै, कम्पनीले ग्राहकहरूलाई सरल तथा सहज बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ ३६५ दिन तथा २४ घण्टा उपलब्ध हुने गरी कल सेन्टर सेवाको समेत सुरुवात गरिसकेको जानकारी गराएको छ ।
कम्पनीले बीमितहरूलाई बीमा दाबी सम्बन्धमा कुनै गुनासो भएमा वा सहजीकरणका लागि कम्पनीको सम्बन्धित कर्मचारी वा दाबी विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । विस्तृत सम्पर्क ठेगाना तथा नम्बरहरू कम्पनीको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।
शिखर इन्स्योरेन्सले आगामी दिनहरूमा समेत ग्राहकको विश्वासलाई मजबुत बनाउन निरन्तर कटिबद्ध रहेको र हरेक प्रतिकूल अवस्थामा सरल, सहज र प्रभावकारी सेवा प्रदान गरी राष्ट्रको आर्थिक विकासका लागि कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।