
अ
+
अ
अ
-
देशसञ्चार AI सारांश
- नेपाल एयरलाइन्सले काठमाडौँ–ग्वाञ्जाओको १९ अक्टोबरको उडान आन्तरिक कारणले रद्द गरिएको जानकारी दिएको छ।
- उडानमा यात्रु सङ्ख्या कम भएकाले होइन, गन्तव्यको प्रचारप्रसार नभएकाले यस्तो निर्णय भएको निगमले जनाएको छ।
- निगमले उडानको बुकिङ प्रवर्द्धनका लागि सञ्चारजगत्लगायत सबैलाई सहयोगको लागि अनुरोध गरेको छ।
काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ ।
निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए ।
उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ ।
निगमले काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ सेक्टरको नियमित उडान तालिकाबमोजिम १६ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडानमा ६८ यात्रु र १७ अक्टोबरका लागि ग्वाञ्जाओ—काठमाडौंँ उडानमा ४१ यात्रुहरुको टिकट बिक्री भइसकेको जनाएको छ ।
यसैगरी, २३ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ—काठमाडौँ उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ ।
निगमले उक्त उडानमा यात्रु सङ्ख्या कम भई रद्द गरिएको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त गन्तव्य नेपालका लागि नयाँ भएको र सो गन्तव्यको पूर्णरुपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरुलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको भनाइ छ ।
निगमले उक्त गन्तव्यमा टिकट बुकिङ बढ्ने क्रम रहेकाले नयाँ सेक्टर प्रवर्द्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण सञ्चारजगत्लगायत सबैमा अनुरोधसमेत गरेको छ ।