
- डा. चन्द्रकान्त भण्डारीले राजनीतिक संकट समाधान गर्न संविधान संशोधनका लागि नयाँ पुस्तासँग संवादको आवश्यकता भएको बताए।
- उनले काँग्रेसले मुलुक, लोकतन्त्र र जनताको हितलाई सर्वोच्च प्राथमिकता दिन ठोस निर्णय लिन आवश्यक रहेको बताए।
- संविधानको सुदृढीकरण र समानुपातिक सांसदहरूको भूमिका स्पष्ट गर्ने उपाय खोज्न संविधान परिमार्जन अपरिहार्य भएको उल्लेख गरे।
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले मुलुक हाल राजनीतिक संकट र संवैधानिक विचलनको अवस्थाबाट गुज्रिरहेको भन्दै सबै राजनीतिक दलहरूले नयाँ पुस्तासँग समेत संवाद गरेर संविधान संशोधनको बाटो खोज्नुपर्ने धारणा राखेका छन्।
मंगलबार सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता भण्डारीले पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार, अहिलेको संवैधानिक समस्याबाट बाहिर निस्कन काँग्रेसको केन्द्रीय समितिले ठोस निर्णय लिनु आवश्यक छ।
भण्डारीले भने, “नेपाली कांग्रेसको इतिहासले सधैं मुलुक, लोकतन्त्र र जनताको पक्षमा निर्णय गरेको छ। अहिले पनि ती तीन वटै पक्षलाई सन्तुलित रूपमा व्यवस्थापन गर्दै पार्टीलाई अगाडि बढाउन जरुरी छ।”
उनले पार्टीको केन्द्रीय समिति बैठकले नियमित वा विशेष महाधिवेशनबारे टुंगो लगाउने र नेतृत्व हस्तान्तरणबारे समेत निर्णय गर्ने जानकारी दिए। उनका अनुसार, सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्ने संकेत गरिसकेका कारण अब पार्टीमा स्वाभाविक रूपमा नेतृत्व परिवर्तन हुने अपेक्षा गर्न सकिन्छ।
नेता भण्डारीले संविधानको रक्षा र नागरिक अधिकारको संस्थागत सुनिश्चितता आवश्यक रहेको उल्लेख गर्दै भने, “संविधान विचलित भएको अवस्थामा त्यसलाई पुनः सुदृढ बनाउन सबै दलहरू र जेन–जी पुस्तासँग सल्लाह आवश्यक छ।”
उनले समानुपातिक सांसदहरूको भूमिकाको स्पष्टता र बहुमत सरकार गठनका जटिलताहरू समाधान गर्न संसद्बाटै संविधान परिमार्जन आवश्यक रहेको धारणा राखे।
भण्डारीका अनुसार, नेपाली काँग्रेस अन्य दलजस्तो सत्तामुखी नभई लोकतन्त्र र जनहितमुखी पार्टी हो, र यही मूल्यबोधका साथ देशको राजनीतिक स्थायित्वका लागि अग्रसर रहनुपर्ने बेला आएको छ।