
काठमाडौँ- सभामुख देवराज घिमिरे र निःवर्तमान राजनीतिक दलहरुका प्रमुख सचेतकहरुबीचको छलफल शुरु भएको छ ।
बुधवार बिहान सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा छलफल शुरु भएको हो ।
जेन—जी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएको छ । सभामुख घिमिरे प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने निवेदनसहित अदालत जाने तयारीमा छन् ।
प्रतिनिधि सभा विघटन संविधान विपरित रहेको र नेकपा एमाले र नेपाली काँग्रेससहितका राजनीतिक दलहरुले संसद विघटन संविधानसम्मत नरहेको बताएका छन् ।
नेकपा एमालेले पदाधिकारी बैठकबाट प्रतिनिधि सभा विघटनविरुद्ध अदालत जाने निर्णय गरिसकेको छ भने काँग्रेस केन्द्रिय समितिको बैठकबाट आफ्नो धारणा स्पष्ट पार्ने बताउँदै आएको छ । यस्तो अवस्थामा सभामुखले विघटन हुनुपूर्वको प्रतिनिधि सभामा सहभागी राजनीतिक दलका प्रमुख सचेतकसँग पार्टीको धारणा माग्न बैठक राखेका हुन् ।
बैठकमा नेकपा एमाले, नेपाली काँग्रस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरु रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि भने सहभागी छैनन् ।