
भारतको राजस्थानको जैसलमेरमा एक यात्रुबाहक बसमा भीषण आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन्।
मृतकको शबहरू पहिचान गर्न नसकिने गरी डढेका कारण डीएनए परीक्षणपछि मात्र परिवारलाई हस्तान्तरण गरिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जैसलमेर–जोधपुर राजमार्गमा दुर्घटना भएको हो। बसमा करिब ५७ जना सवार रहेका थिए। प्रत्यक्षदर्शीका अनुसार आगलागीपछि बस ५० मिटरभन्दा बढी दौडिएको थियो, जसका बीचमा केही यात्रुहरू हामफालेर ज्यान जोगाउन सफल भएका थिए।
बसमा सवार यात्रुहरू दिपावली मनाउनका लागि घर फर्किँदै थिए भने केही आफन्तसँग भेटघाटका लागि जोधपुर जाँदै थिए। आगो नियन्त्रणमा आउन केही समय लागेको र पानी ट्यांकरमार्फत निभाएपछि मात्र जलेका यात्रुहरूको शव बाहिर निकालिएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई नजिकैको जवाहिर अस्पतालमा उपचारका लागि पुर्याइएको छ।
आगलागीको कारण स्पष्ट नभए पनि प्रारम्भिक अनुमान अनुसार सर्ट सर्किट वा पटाका विस्फोटका कारण आगो लागेको हुनसक्ने बताइन्छ।
घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीको भनाइ छ।