
- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जेनजीका माग पूरा नगरी संसद पुनःस्थापना गर्न नहुने बताए।
- जेनजीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज र गैरदलीय स्थानीय तहको माग गरेका छन्।
- शाहीले भ्रष्टाचार नियन्त्रण गर्न संविधानका केही धाराहरु परिमार्जन गर्न आवश्यक रहेकोमा जोड दिए।
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जेनजीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्न नहुने बताएका छन् ।
बुधबार सभामुखसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले राप्रपाले सभामुख देवराज घिमिरेसँग जेनजीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन भनेर स्पष्ट धारणा राखेको बताए ।
जेनजीको अहिलेको माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज र गैरदलीय स्थानीय तह रहेको बताए । गैरदलीय स्थानीय तह नहुने पनि जेन जीकै मागहरु रहेको बताए ।
देशमा भ्रष्टाचार व्याप्त रहेको र यसलाई नियन्त्रण गर्न संविधानका केही धाराहरु वाधक रहेकाले त्यसलाई परिमार्जन गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘हामीले सभामुखलाई स्पष्ट अडान राखेका छौँ । जेन जीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन । जेन जीको अहिलेको माग भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हो, त्यो माग पूरा गर्नुपर्छ । संसदबाट पारित गर्छौं भन्ने प्रतिवद्धता भएमात्रै संसद पुनःस्थापना गरौँ नत्र नगरौँ । प्रदेश संरचना खारेज, गैरदलीय स्थानीय तह, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति हुनु भएन भन्ने छ । देशमा भ्रष्टाचार व्याप्त छ, भ्रष्टाचार नियन्त्रणका लागि संविधानका केही धाराहरु वाधक छन्, ति धारालाई परिमार्जन गर्ने प्रतिवद्धता हुनुपर्छ ।’
उनले नेपालको संविधानमा १८ वर्ष उमेर पूरा गरेको व्यक्तिले मतदान गर्न पाउने र उम्मेदावर बन्न नपाउने उमेहरदबन्दी हटाउनुपर्ने बताए ।