
- महेश बर्तौलाका अनुसार संसद् विघटन असंवैधानिक, अराजनीतिक, र अलोकतान्त्रिक भएकोले यसको पुनःस्थापना आवश्यक छ।
- बर्तौलाले राजनीतिक दलहरूले आफ्ना एजेण्डा अघि बढाउन पाउने सुनिश्चितता सरकारले दिन नसकेको आरोप लगाए।
- सरकारले फागुन २१ मा निर्वाचन नगराउने ध्येयले कुनै ठोस कार्य नगरेको आरोप पनि एमालेले लगाएको छ।
काठमाडौँ- नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्गभन्दा बाहिर रहेको टिप्पणी गरेका छन्।
उनका अनुसार अन्तरिम सरकार गठन नै असंवैधानिक रूपमा भएको र संसद् विघटन पनि असंवैधानिक ठहर भएको एमालेको धारणा रहेको छ।
बुधवार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् विघटन असंवैधानिक, अराजनीतिक र अलोकतान्त्रिक भएको बताए। उनका अनुसार जेन–जी पुस्ताका राम्रा विषयहरू समेटेर जाने माध्यम भनेकै संसद् हो, त्यसैले संसद् पुनःस्थापना जरुरी रहेको उनले उल्लेख गरे।
उनले सरकार र गृहमन्त्रीमाथि निर्वाचन गराउनेभन्दा निर्वाचन हुनै नदिने काममा लागेको आरोप लगाए। उनका अनुसार राजनीतिक दलहरूले आफ्ना एजेण्डा लिएर जनतामाझ जान पाउने सुनिश्चितता सरकारले दिन सकेको छैन।
बर्तौलाले भने, “आजको बैठकमा सबै दलहरूले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन्। संसद्लाई कायम राखेरै सबै प्रकारका समस्याको समाधान गर्न सकिने अवस्था हुँदाहुँदै पनि त्यो ठूला षड्यन्त्रका कारण असफल भयो भन्ने कुरा सबै दलहरूको साझा मत रह्यो। संसद् विघटन असंवैधानिक, अराजनीतिक र अलोकतान्त्रिक हो। यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतले गर्नेछ। जेन–जी पुस्ताले उठाएका राम्रा विषयहरू संसद्मार्फत संविधान संशोधन गरेर, भोलिका दिनमा निर्वाचनमार्फत ताजा जनादेश ल्याएर अघि बढ्न सकिन्छ भन्ने कुरा बैठकमा आएको हो। संसद् पुनःस्थापना हुन आवश्यक छ। देश अहिले संवैधानिक मार्गभन्दा बाहिर छ। संवैधानिक लिकमा ल्याउन निर्वाचन र संसद् पुनःस्थापना नै उपाय हो।”
उनले निर्वाचनका दृष्टिले अहिलेसम्म कुनै ठोस कार्य अगाडि नबढेको बताए। साथै, गृहमन्त्रीले दलका नेताहरुलाई धम्क्याउँदै हिँड्ने र गृह प्रशासन त्यही ढंगले सञ्चालन भइरहेको आरोप पनि लगाए।
उनका अनुसार सरकार अहिले राजनीतिक दलहरूसँग संवादविहीन अवस्थामा छ। उनले लुटिएका हतियार खोज्ने विषयमा गृहमन्त्रीले चासो नदेखाएको र भयरहित वातावरण बन्न नसकेको बताए। साथै उनले फागुन २१ गते निर्वाचन नगराउने गरी सरकार लागेको दाबी पनि गरे।