
काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको निर्णय गरे मात्रै आफूले पद छोड्ने बताएका छन्।
बुधबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीका केही सुरवीरहरुले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने बताए।
आफूले पदबाट हट्नुपर्छ भन्ने कुरा फेसबुकले नभई पार्टी केन्द्रीय कमिटीले भन्ने विषय रहेको बताउँदै अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटीले निर्णय गरे आफू खुशीसाथ पद त्याग गर्न तयार रहेको बताए।
उनले पार्टी केन्द्रीय कमिटी र महाधिवेशनको फैसलाको आधारमा आफू अघि बढ्ने बताए। उनले आफू व्यक्तिगत इच्छा नभई देश र जनताको इच्छाअनुसार अघि बढेको जिकिरसमेत गरे।
उनले भने,‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन, यो कमिटीले भन्नुपर्छ।’
उनले विरोधीहरुले पार्टीमाथि आक्रमण गरिरहेका बेला पार्टीभित्रकाहरुले पनि सोहीअनुसारको गतिविधि गर्ने कुरा सह्य नहुने चेतावनीसमेत दिए।