
- निर्वाचन आयोगले मतदाता नामावली दर्तामा युवा सहभागिता बढेको भन्दै उनीहरूलाई कात्तिक मसान्तसम्म समय दिएको छ।
- युवाहरू, विशेष गरी १८ देखि २५ वर्षका, आफ्नो नाम दर्ता गराउन दैनिकजसो निर्वाचन कार्यालयमा पुगेका छन्।
- दसैँका कारण असोजमा कम चहलपहल भए पनि अहिले मतदाता नामावली दर्तामा उत्साह देखिएको छ।
हुम्ला – निर्वाचन आयोगले मतदाता नामावली दर्ता गर्न जेनजी आकर्षित भएको बताएको छ। जिल्ला निर्वाचन कार्यालयमा आफ्नो नाम दर्ता गराउने युवाको संख्या बढ्दै गएको छ। यसअघि छुटेका र तोकिएको मितिसम्म नयाँ मतदाताका लागि नाम दर्ता गराउने उमेर पुगेका युवा दैनिकजसो निर्वाचन कार्यालयमा आफ्नो नाम दर्ता गराउन पुगेका हुन्।
निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराएका खार्पुनाथ गाउँपालिका– ५ का अकिल शाहीले युवाको सक्रियता बढेको बताए।
नाम दर्ता गराउनेमा अधिकांश १८ देखि २५ वर्ष उमेर समूहका छन्। नाम दर्ताका लागि युवाको चासो स्वतः स्फूर्त बढेको भन्दै अब नाम दर्ता नगराएका युवालाई कात्तिक मसान्तसम्म समयावधि तोकिएको छ।
जिल्लाा निर्वाचन कार्यालयका प्रमुख भीमबहादुर रोकायाले असोज ९ गतेबाट मतदाता नामावली दर्ता खुला गरिए पनि दसैँका कारण खासै कोही नआएको बताए।
तर, अहिले नाम दर्ता गराउन आउनेको संख्या बढेको र कार्यालयमा फोन गरेर मतदाता नामावलीमा नाम दर्ताका लागि आवश्यक कागजातबारे जानकारी लिने गरेको उनले बताए।
हुम्ला जिल्लाको मतदाता नामावली संख्या ३३ हजार ३ सय ३७ रहेकोमा त्यसमा थपिने क्रम जारी छ। कात्तिक ३१ गतेसम्म नयाँ मतदाता नामावली दर्ता गराउन पाउने व्यवस्था निर्वाचन आयोग गरेको छ।