
काठमाडौँ – आफूलाई जेन्जी आन्दोलनको अगुवा दाबी गर्दै आएका रवि किरण हमालले जेन–जीको बलिदानलाई सम्मान गर्न सर्वोच्च अदालतलाई चेतावनी दिएका छन्।
उनले बुधबार विज्ञप्ति जारी गर्दै संसद् पुनःस्थापना गर्ने प्रयास विद्रोही युवाको रगतमाथिको अपमान भएको बताएका हुन्।संसद् पुनःस्थापनाका नाममा सर्वोच्च अदालतमा परेको मुद्दा केवल कानुनी प्रक्रिया मात्रै नभई युवाहरूको बलिदानमाथिको घात भएको उनको भनाइ छ।
‘आज फेरि मृत संसद्को पुनरुत्थान गर्न खोज्ने खेल सुरु भएको छ। सर्वोच्च अदालतमा पुनःस्थापनाको नाममा दायर मुद्दा केवल कानुनी प्रक्रिया होइन, त्यो विद्रोही युवाको बलिदानमाथिको घात हो, रगतमाथिको अपमान हो, र विद्रोहको भावना विपरीत जाने षड्यन्त्र हो,’ विज्ञप्तिमा भनिएको छ।
सर्वोच्चले युवाको बलिदानको सम्मान नगरे देशमा पुनः रक्तपात हुने र देश गृहयुद्धतर्फ धकेलिने विज्ञप्तिमा उल्लेख छ। आफूलाई जेन–जी आन्दोलनको अगुवा दाबी गर्दै आएका हमाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छन्।