
काठमाडौँ- नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ ।
ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा र सुझाव राखिरहेका छन् ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबार बसेको बैठकमा ५० केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए ।
बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि वर्णानुक्रमअनुसार उल्टोतिरबाट (ज्ञ बाट) पालो मिलाइएको छ ।
बुधबारको बैठकमा अध्यक्ष ओलीले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।
बैठकमा केन्द्रीय सदस्यहरूका धारणाा सुनेपछि पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने तय भएको छ ।
अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिने तयारी छ ।