
निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि बिहीबार पहिलोपटक राजनीतिक दलहरुसँग छलफल गरेको छ।
आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आगामी निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो।
छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष गुरु बराल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कविन्द्र बुर्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेसहित विभिन्न दलका प्रतिनिधिहरू सहभागी भएको आयोगले जानकारी दिएको छ।
छलफलका क्रममा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सिर्जना गरी सक्रिय हुन दललाई आग्रह गरेका छन्।