
काठमाडौं- नेपालको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले बिहीबार नयाँ पार्टी दर्ता गरेको छ।
निर्वाचन आयोगमा दर्ता भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’मा बस्नेत सदस्य छन् भने समाजशास्त्री दिनेश प्रसाईं अध्यक्ष। त्यस्तै, महासचिवमा , पियुषप्रसाद कायस्थ छन्।
पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था पनि गरिएको छ। सदस्यले भने चुनाव लड्न पाउनेछन्। ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा ५१७ नम्बरमा दर्ता भएको हो।
गतिशील लोकतान्त्रिक पार्टी सुधार, सुशासन र आर्थिक उत्थानमा केन्द्रित नयाँ राजनीतिक विकल्प भएको दाबी पार्टीको दस्तावेजमा गरिएको छ।
गतिशील लोकतान्त्रिक पार्टीको ‘हामी किन र हाम्रो प्रतिबद्धता’ शीर्षकको दस्तावेजमा पार्टीले आफूलाई सुधारवादी, पारदर्शी र जनमुखी शक्तिका रूपमा परिभाषित गरेको छ।
गतिशील लोकतान्त्रिक पार्टी नेपालको राजनीतिक, सामाजिक र आर्थिक संरचनामा देखिएका कमजोरीलाई सम्बोधन गर्दै नयाँ पुस्ताको सोच र कार्यकुशल नेतृत्वका माध्यमबाट वैकल्पिक शक्ति बन्ने लक्ष्यसहित अघि बढ्ने पनि उल्लेख छ।